उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र क्याम्पस पुरस्कृत

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र क्याम्पस पुरस्कृत

शिक्षा मन्त्रालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र क्याम्पसहरुलाई पुरस्कृत गरेको छ ।

मन्त्रालयले देशभरबाट छानिएका १८ वटा उत्कृष्ट विद्यालय र क्याम्पसलाई सम्मान गरेको हो । जसमा कक्षा १२ सम्मको माध्यमिक शिक्षा, सामुदायिक विद्यालयतर्फ कास्कीको अमरसिंह माध्यमिक विद्यालय पहिलो, मोरङको सुकुना माध्यामिक विद्यालय दोस्रो र पर्वतको भवानी विद्यापीठ माध्यामिक विद्यालय तेस्रो भएका छन् ।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यामिक विद्यालय कास्की, नेपाल पुलिस स्कुल काभ्रेपलाञ्चोक र काठमाडौको सेन्ट जेभियर्स कलेजलाई पुरस्कृत गरिएको छ ।

यस्तै माध्यामिक कक्षा १० सम्मका सामुदायिक विद्यालयहरुमा मेधा माध्यामिक विद्यालय भक्तपुर, गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालय र काठमाडौंको तरुण माध्यामिक विद्यालय पुरस्कृत भएका छन् । संस्थागततर्फ काठमाडौंको रिलायन्स इन्टरनेशनल एकेडेमी, काभ्रेको नेपाल पुलिस स्कुल र काठमाडौंको भ्याली इंग्लिस स्कुल पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने विद्यालयमध्ये प्रथमलाई तीन लाख, द्वितीयलाई २ लाख र तृतीय हुनेलाई १ लाख रकम प्रदान गरिएको छ । यस्तै प्राविधिक शिक्षातर्फका आंगिक विद्यालयहरुमा काठमाडौं बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, पाल्पाको तानसेन स्कुल अफ हेल्थ साइन्स र सिन्धुलीको जनज्योति माध्यामिक विद्यालयलाई जनही १ लाख राशीसहित पुरस्कृत गरिएको छ ।

उत्कृष्ट क्याम्पसतर्फ ललितपुरको पुल्चोक क्याम्पस, सिरहाको जेएस मुरारका बहुमुखी क्याम्पस र काठमाडौंको बर्नहार्ट कलेजलाई जनही २ लाख ५० हजार रकमसहित पुरस्कृत गरियो ।

कार्यक्रममा उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न प्राविधिक शिक्षामा लगानी बढाउनु पर्ने बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस आर्थिक बर्षभित्र साक्षर जिल्लाको संख्या कम्तीमा ७० पु¥याइने बताए । हाल ५१ जिल्ला साक्षर घोषणा भईसकेको भन्दै मन्त्री पोखरेलले यसै बर्ष साक्षर नेपाल घोषणा गर्ने बताए ।

कक्षा ८ सम्म ९२.८ प्रतिशत बालबालिका भर्ना हुने र कक्षा १० सम्म पुग्दा जम्मा ४६.४ प्रतिशत विद्यार्थीमात्र भर्ना हुने गरेको कार्यक्रममा जानकारी दिइयो ।