‘पर्याप्त पानी पिउनुहोस्, समयमा शौचालय जानुहोस्’

‘पर्याप्त पानी पिउनुहोस्, समयमा शौचालय जानुहोस्’

 

शहरमा बाहिर निस्कँदा या लामो यात्रामा दिसापिसाब च्याप्नु र पिसाब लाग्छ भनेर पानी नपिउनु धेरैको साझा समस्या हो ।

लामो समय दिसापिसाब च्याप्दा र पानी नपिउँदा पिसाब फेर्ने चिन्ता केही कम भए पनि यसले स्वास्थ्यमा भने गम्भीर समस्या निम्त्याइरहेको हुन्छ । मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ ‘पिसाब थैली भरिएपछि पिसाब फेरिहाल्नु पर्छ, रोकेर राख्न हुँदैन । रोक्यो भने समस्या शुरु हुन्छ ।’


किन रोक्नु हुँदैन पिसाब ?

धेरैबेरसम्म पिसाब रोक्नाले पिसाब थैली फुल्न थाल्छ । अनि हामीलाई पिसाब लागेको थाहा हुन्छ । यदि हामीले पिसाब लागेको थाहा पाएपछि पनि अटेर गरेर बस्यौं भने मुत्रथैलीमा पिसाब बढी हुन थाल्छ ।

पटक/पटक पिसाब रोक्ने गरियो भने त शरीरले कति बेला शौचालय जानुपर्छ भनेर थाहा पाउने क्षमता समेत गुमाउन सक्छ । हामीले जतिलामो समय पिसाब रोक्छौं, हाम्रो पिसाब थैलीमा त्यति नै धेरै रोगका जिवाणुहरु उत्पादन हुन थाल्छन् । अनि संक्रमण शुरु हुन्छ । रोग लगाउने जिवाणु फैलँदै मृगौलासम्म सङ्क्रमण फैलाउन सक्ने हुँदा पिसाब रोक्दा शरीरमा ठूलो समस्या हुन सक्ने डाक्टर काफ्ले बताउनुहुन्छ ।