डेंगी प्रकोप बढ्दै, वैशाखयता ४२ जिल्लाका ६ हजार २६ जनामा संक्रमण

डेंगी प्रकोप बढ्दै, वैशाखयता ४२ जिल्लाका ६ हजार २६ जनामा संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष ४२ जिल्लामा ६ हजार २६ जनामा डेंगी रोगको संक्रमण भएको जनाएको छ ।

गएको वैशाखदेखि असार अन्तिमसम्म तीन हजार ४३५ जनामा डेंगी देखिएको थियो ।साउन १ गतेयता थप दुई हजार ५९१ मा रोगको संक्रमण देखापरेको जनाइएको छ ।सबैभन्दा बढी ३ नम्बर प्रदेशमा एक हजार ९३ जनामा रोग देखिएको छ भने प्रदेश नम्बर–१ मा ७५३ जना डेंगीबाट प्रभावित भएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डेंगीबाट हालसम्म चारजनाको मृत्यु भएको भन्दै सबैभन्दा बढी कास्की, मकवानपुर, सुनसरी र चितवन जिल्लामा प्रभाव देखिएको जानकारी दिए ।

कार्यक्रममा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले डेंगीको प्रकोप बढेका बेला कर्मचारीलाई ‘फाजिल’मा राखेर सरकारले समस्यामा पारेको गुनासो गरे ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले एक दिनमा २५० जना डेंगीको परीक्षण गर्न आउने गरेको बताए ।

सो अस्पतालमा हाल ३० जना बिरामी भर्ना भएको भन्दै डा. पाण्डेले डेंगी संक्रमणको शंका लागे चिकित्सकको सम्पर्कमा आउने र झोलिलो पदार्थ खाने तथा आराम गरेमा निको हुने बताए ।