ओली सिंगापुरबाट फर्किनेबित्तिकै प्रचण्डसँग भेट

ओली सिंगापुरबाट फर्किनेबित्तिकै प्रचण्डसँग भेट

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दिउँसो भेट भएको छ। प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड उनलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि,पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए।

आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए।

प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए।यही बीचमा प्रचण्डले अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए। दुई अध्यक्षको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

यसैबीच नेकपा अध्यक्ष प्रचण्डले डेंगीको संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका कृषि मन्त्री चक्रपाणि खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। डेंगीको संक्रमण देखिएपछि  मन्त्री खनाल बुधबारदेखि अस्पताल भर्ना भएका छन्।