पेस्तोल, गोलीगठ्ठा र नक्कली सरकारी कागजपत्रसहित पक्राउ परेका तीन जना सार्वजनिक

पेस्तोल, गोलीगठ्ठा र नक्कली सरकारी कागजपत्रसहित पक्राउ परेका तीन जना सार्वजनिक

धनगढीमा बुधबार साँझ चार थान पेस्तौल, र सुन सहित पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 
प्रहरीले चार थान पेस्तौल, त्यसमा प्रयोग हुने ७ राउण्ड गोली र झण्डै सात सय ग्राम सुनका गहनासहित धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, सोही ठाउँका कमल बिक र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का रुद्र प्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालयमा बिहीबार साँझ सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुबारे थप अनुसन्धान भइरहेकोले सबै कुरा अनुसन्धान सकिए पछि मात्रै जानकारी दिने बताएको छ । 
उनीहरु पक्राउ परेपछि उनीहरुले धनगढी–३ चटकपुरमा भाडामा लिएको कोठा तोडेर खानतलाशी गर्दा प्रहरीले पेस्तोल र सुन सहित बिभिन्न कामका लागि प्रयोग हुने नक्कली सरकारी कागजपत्र तथा नक्कली चेकहरु बरामद गरेको छ । उनीहरुबट बरामद भएका चेक र त्यसमा उल्लेख भएको रकम हेर्दा प्रहरी पनि चकित भएको छ । 
उनीहरु पक्राउ परेपछि घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएको र बाँकी बिस्तृत अनुसन्धानपछि खुल्ले कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले बताउनुभयो । प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकका नक्कली चेकहरु, बिभिन्न कार्यालयका छाप र नक्कली पत्र तथा कागजातको चाङ नै फेला परेको छ । सञ्जय राणाका नामले चिनिने रानाले राष्ट्र बैंकका तीनै नक्कली चेक र कागजातका आधारमा जो सुकैलाई सहजै प्रलोभनमा पारी रकम लिने गरेको र त्यो अरुलाई मिटर व्याजमा लगाउने गरेको पाईएको प्रहर उपरिक्षक गिरीले बताउनुभयो । 

उनीसंग ठूलो संख्यामा रकम दिएका तमसुकहरु समेत बरामद भएका छन् । राणाबाट बरामद बिभिन्न चेकहरुमा उल्लेखित रकम जोड्दा पाँच अर्ब रुपैया हुन आउँछ । प्रहरीले राणासंग फेला परेका चेक र तमसुकका बारेमा पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले राणा समूह सुन र साना हतियार, मिटर ब्याजको अबैध धन्दामा लामो समयदेखि संलग्न रहेको प्रमाणहरु फेला परेको र अनुसन्धान जारी रहेको बताएको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–६ मटियारीमा रहेको राणाको आलिशान घरको खानतलासी समेत गरेको छ ।  

राणा साना हतियार सुन, मिटर व्याज, ढुकुटी लगायतका अबैध धन्दामा संलग्न भएको जानकारी पाएपछि प्रहरीको सिआईवीले उनको निगरानी थालेको बताईएको छ । बाहिर देखिने कुनै व्यापार व्यवसाय नभएका राणाको जीवनशैली र आर्थिक हैसियत देखेर सिआईवीको टोलीले उनीमाथि अनुसन्धान थालेको र लामो समयपछि उनी पक्राउ परेका हुन् । सिआईवीको टोलीले चारदिनदेखि राणालाई पछ्याउदै आएको थियो । 

चार दिनदेखि निरन्तर निगरानीमा राखेको राणालाई सिआईवीको टोलीले बुधवार पक्राउ गरी उनका अबैध अड्डा सहितका स्थानमा छापा मारेको हो । बरामद भएका पेस्तोल र सामग्रीका बारेमा पनि अनुसन्धान भईरहेको छ, एक प्रहरी अधिकृतले भने, प्रारम्भिक अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी गरिरहेका छौ । राणासंगै अबैध धन्दामा संलग्न व्यक्तिहरु समेत प्रहरीले पक्राउ गर्ने भएको छ । केही वर्षअघि मृत्यु भएका धनगढीगाउँका खेम रानाको मृत्युमा पनि राणाको नाम जोडिएको छ । उनकै कारण धनगढी चौराहाका व्यापारी मनिष शर्मा धनगढीबाट फरार भएको स्रोतले बतायो । प्रहरीले राणासंग जोडिएका सबै विषय र मान्छेका बारेमा समेत अनुसन्धान थालेको छ । राणाको साथबाट उनले कैलाली र डोटी जिल्लाबाट लिएका दुई थान नागरिकता पनि भेटिएका छन् ।