अपराधीक गिरोहका नाइके "राणा" सहित तिनजना सार्बजनिक

अपराधीक गिरोहका नाइके "राणा" सहित तिनजना सार्बजनिक

धनगढी। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईवी) को टोलीले कैलालीको धनगढीबाट चार थान पेस्तोल र सुनसहित पक्राउ गरेको तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ  । जिल्ला प्रहरी कार्यालय कैलालीमा केहिबेर पहिले उनीहरुलाई सार्वजनिक गरेको हो ।  

धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो।

 प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको छ। 

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको उनले बताए। दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको हो। 

उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ। एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरिएको छ।

विभिन्न सरकारी कार्यालयका छापहरु बरामद गरिएको हो। नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको हो। 

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता भेटिएको छ। एउटा कैलाली र एउटा डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोवारी भएको खुल्न आएपनि विस्तृत रुपममा अनुसन्धान गर्न बाँकी रहेको जनाइएको छ । ७ दिन म्याद थपेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।