साफ यू–१५ च्याम्पियनशिप : भारतविरुद्धको हारको यात्रामा पूर्णविराम लगाउँदै उपाधि उचाल्ने मौका

साफ यू–१५ च्याम्पियनशिप : भारतविरुद्धको हारको यात्रामा पूर्णविराम लगाउँदै उपाधि उचाल्ने मौका

साफ यू–१५ च्याम्पियनशिपको उपाधिका लागि नेपाली किशोर टिमले शनिबार भारतसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा ने भारतसँग पाँच–शून्यले पराजित भएको नेपाललाई त्यो हारको बदला लिँदै उपाधि उचाल्ने सुनौलो मौका रहेको छ ।

भारतको कल्याणीमा हुने खेल दिउँसो सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा भारी अन्तरले पराजित भएर पनि फाइनलमा पुगेको टिम हो । यस्तै भारत एउटा पनि खेल नहार्ने टिमका रुपमा रहेको छ । नेपालले समूह चरणको पहिलो खेलमा भारतसँग नै पराजित भएपछि त्यसपछिका लगातार तीन खेलमा जित निकालेको थियो ।

भारतसँग हारे पनि टिमले दोस्रो खेलमा श्रीलंकासँग दुई–शून्यले विजयी भएको थियो भने बंगलादेशलाई चार–एकले पराजित गरेको थियो । त्यसपछि भुटानलाई छ–शून्यले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको पहिलो खेलमा नै भारी अन्तरले हारेको नेपाललाई त्यसको बदला लिनका लागि फाइनल खेल रहेको छ ।

अघिल्लो संस्करणमा घरेलु मैदानमा भएको खेलमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग एक–शून्यले पराजित भएको थियो । २०१७ मा भएको प्रतियोगितामा पनि नेपाल दुई पटक भारतसँग खेल्दा दुवै पटक हारेको थियो । समूह चरणमा दुई–एकले हारेको नेपाल फाइनलमा पनि त्यही नतिजाले पराजित भएको थियो ।

यस्तै २०१५ मा भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनलमा भारतसँग नै एक–शून्यले पराजित भएको थियो ।

२०१३ मा पनि नेपाल र भारत फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल एक–शून्यले पराजित भएको थियो । २०११ मा पनि नेपाल र भारतको भेट फाइनलमा भएको थियो ।

त्यस बेला पनि नेपालको तगारो भारत नै बनेको थियो । फाइनलमा निर्धारित समयमा एक–एक गोलको बराबरी हुँदा पेनाल्टीमा भारत चार दुईले विजयी भएको थियो।