पोखराका पत्रकार गिरिलाई अदालतको सफाइ,निर्भीक पत्रकारिताको सर्बत्र चर्चा

पोखराका पत्रकार गिरिलाई अदालतको सफाइ,निर्भीक पत्रकारिताको सर्बत्र चर्चा

पोखरा । पत्रकारिता अर्थात आवाजविहीनहरुको आवाज । तर पत्रकारितामा आवाजविहीनहरुको आवाज ल्याउने पत्रकार औंलामा गन्न पुग्नेमात्रै छन् । निर्धाहरुको आवाज, दबाइएको आवाज र डर, दबाब अनि धम्कीहरुबाट पीडितहरुको आवाजलाई समाचार बनाउने थोरै र दुर्लभ पत्रकारमध्येका एक हुन् अर्जुन गिरी ।

समाचारबारे पत्रकारितामा एउटा भनाइ छ, समाचार त्यो सूचना हो जो कसैको स्वार्थमा लुकाइन्छ, अरु त विज्ञापन हुन् । हो, त्यस्तै कसैको स्वार्थमा लुकाइएका सूचना खोतल्ने निर्भीक पत्रकार हुन् अर्जुन गिरी ।

पछिल्लो समय जग्गा कारोबारमा पोखराका चर्चित व्यवसायीबाट ठगिएका २ जनाको आवाजलाई समाचार बनाए स्वरुप पत्रकार अर्जुन गिरीमाथि ठगीका आरोपित व्यवसायीले साइबर क्राइमको मुद्दा लगाएका थिए । त्यही मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए । त्यही मुद्दाको छिनोफानो काठमाडौं जिल्ला अदालतले भदौ ८ गते आइतबार आज गरेको छ । न्यायधिश विनोद कुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

यसबीचमा धेरैपटक तारेख धान्न काठमाडौं धाइरहे । अरु पनि मुद्दामामलाको जालोले सताइरह्यो । तर अर्जुनको कलम रोकिएन । उनी कत्ति बिचलित भएनन् । झन् खरो रुपमा पत्रकारितामा सक्रिय बने ।

पत्रकारिता विषयमा मास्टर गरेका पत्रकार अर्जुन गिरीले विगत एक दशक बढी भयो पत्रकारिता गरेको । सुरुआतदेखि नै अर्जुनको कलम अपराध अनुसन्धान र विकृति विसंगतिका विरुद्ध चल्दै आयो । हक्की तथा निडर स्वभावका गिरीले पोखरामा भएको गुण्डागर्दीविरुद्ध खरो कलम चलाउँदै आएका छन् । भ्रष्टाचार, अनियमिता र बेथितिविरुद्धका समाचारमा रुचि राख्ने उनको व्यक्तिगत जिन्दगी भने सरल छ । साथीभाइका प्रिय छन्, सहकर्मीबीच मिलनसार छन् । इमान्दार र स्वाभिमानी व्यवहार छ । पत्रकारिताको मूल्य र मान्यतामा नचुक्ने र इमान्दारीपन नछोड्ने कारण कुनै दबाब र डरधम्कीसँग डराउँदैनन् ।