सोसल मिडियाको दुरुपयोगले अराजकता बढ्योः मन्त्री बास्कोटा

सोसल मिडियाको दुरुपयोगले अराजकता बढ्योः मन्त्री बास्कोटा

सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले पछिल्लो समय सोसल मिडियाको दुरुपयोग बढ्दै जाँदा समाजमा अराजकता बढेको बताएका छन्।

सरकारले सोसल मिडियालाई नियमन गर्ने उनले प्रतिबद्धता जनाए। लाइक र भिजिटर संख्या बढाउने नाममा सनसनीपूर्ण शिर्षकका भ्रमपूर्ण समाचार राखेर सोसल मिडियाको दुरुपयोग हुने गरेकोले सरकारले नियमन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बास्कोटाले सोसल संजाललाई मेन स्ट्रिम मिडिया बनाईयो भने यसले अराजकता निम्त्याउने र त्यसको संकेत केहि ठाउँमा देखि सकिएको बताए।

उनले भने ‘सोसल मिडियाले मेनस्ट्रीम मिडियालाई गाइड गर्ने होइन त्यो व्यक्तिगत कुरा हुन्छ जसको जवाफदेहिता हुँदैन, एकपटक पोष्ट गरेपछि सकियो त्यसले कसलाई असर पर्छ मतलब हुँदैन।’

टेलिभिजन, रेडियो, छापा लगायतका मिडियाहरु दर्ता भएर संचालन भएजस्तै सोसल मिडिया र युट्युबहरु पनि दर्ता भएर संचालन हुनुपर्ने उनको भनाइ छ। ‘अरु मिडियाहरु दर्ता भएका हुन्छन्, जवाफदेही हुन्छन् सोसल मिडिया, युट्युवहरु पनि दर्ता भएर संचालन हुनुपर्दैन ?’ उनले प्रश्न गरे।