रवि लामिछानेको बयान भोलिमात्रै, आज हिरासतमै रहने

रवि लामिछानेको बयान भोलिमात्रै, आज हिरासतमै रहने

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलि मात्रै हुने भएको छ।

आज अभियुक्त अस्मिता कार्की (रुकु)को बयान सकिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए।

रवि र अर्का अभियुक्त युवराज कँडेलको भोलि मात्रै बयान हुने गिरीले बताए। बयान नसकिएकालाई आज हिरासतमै राख्न अदालतले आदेश दिएको छ।

यसअघि प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवानाको सजाय माग गर्दै मुद्दा दर्ता गरेका हुन्।

सो सम्वन्धमा बयान लिने क्रम आइतबार नसकिएपछि सोमबार १० बजेबाट पुनः सुरू हुने भएको हो।

बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ।

आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो। माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडिओपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।