नेकपाले अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कुल सञ्चालन गर्ने

नेकपाले अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कुल सञ्चालन गर्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता–कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कुल सञ्चालन गर्ने भएको छ । पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको पार्टी स्कुल विभागले पाठ्यक्रम बनाएर देशभरि स्कुल चलाउन लागेको हो ।

नेकपाको स्कुल विभागको कार्यभार सम्हाल्दै नवनियुक्त विभाग प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले शनिबार यस्तो बताएका हुन् । स्कुल विभागले योजना बनाएर देशव्यापी स्कुल सञ्चालन गर्ने र पार्टीमा वैचारिक जागरण ल्याउने कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका प्रमुख पोखरेलले बताए । पार्टीको आधिकारिक नीति र योजनाअनुसार पाठ्यक्रम बनाउने र स्कुल विभागले तलसम्म लैजाने उनले बताए ।

यसअघि जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा लबिङ गर्दै आएका नेता पोखरेलले स्कुल विभाग प्रमुख बनेपछि भने सो विषयमा केही बोलेका छैनन् । कार्यभार सम्हाल्दै प्रमुख पोखरेलले पार्टीमा वैचारिक बहस गर्न खुला भए पनि स्कुल विभागले आधिकारिक विचारलाई मात्र बोक्ने प्रस्ट गरे ।  स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलले कार्यकर्तालाई वैचारिक रूपमा सक्षम बनाउने बताउँदै अब २० वर्ष नेकपाले जनताको मतबाटै सत्ता चलाउने घोषणा गरे ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा रहेको तत्कालीन एमालेको स्कुल विभागको कार्यालयमा आयोजित समारोहमा तात्कालीन एमालेका सो विभागका उपप्रमुख शंकर पोखरेलले नयाँ नेतृत्वलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरे । सोही भवनमा नेकपाको स्कुल विभाग सञ्चालन हुनेछ । पोखरेलले नयाँ नेतृत्वले कार्यकर्तालाई वैचारिक बनाउन अहं भूमिका खेल्नुपर्ने सुझाव दिए ।

प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले पार्टीबाहिरका व्यक्तिलाई पनि नेकपाका स्कुलमा पढाउन सकिने सुझाव दिए । उनले नेकपा देशकै नेतृत्व गर्ने अगुवा शक्ति भएकाले पार्टीभन्दा बाहिरका इच्छुकलाई पनि नेकपाको स्कुलमा पढ्ने व्यवस्था मिलाउन नयाँ नेतृत्वलाई सुझाव दिए ।

विगतमा एमालेले प्रशिक्षार्थीबाट शुल्क लिएरै स्कुल चलाएको स्मरण गर्दै उनले नेकपाबाहिरका व्यक्ति पनि पार्टीको स्कुलमा पढ्न चाहेमा शुल्क लिएर पढाउन सकिने बताए । साबिक एमालेको स्कुल विभागले तयार पारेका पाठ्यक्रमसहितका सामग्री हस्तान्तरण गर्दै पोखरेलले पछिल्लो समय कार्यकर्तामा पढ्ने संस्कार घटेकोमा चिन्ता व्यक्त गरे ।

नेकपा कार्यकर्तामा पनि सामाजिक सञ्जालबाहेक अरू सामग्री नपढ्ने संस्कार देखिएको उनले बताए । उनले यसअघि कम्युनिस्ट पार्टीको स्कुल विभागको खासै चर्चा नभए पनि नेकपाको स्कुल विभागको प्रमुखको बन्ने भन्ने विवादको समाचारले यो विभागलाई सबैको चासोको केन्द्र बनाएको बताए । विभाग चर्चित भएसँगै नयाँ नेतृत्वलाई चुनौती थपिएको उनको भनाइ थियो ।