निर्वाचन आयोगलाई राप्रपाको सुझाव मतपत्रमा ‘नो भोट’ राखौं

निर्वाचन आयोगलाई राप्रपाको सुझाव मतपत्रमा ‘नो भोट’ राखौं

राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न अनिच्छुक मतदाताका लागि मतपत्रमा नै ‘नो भोट’को व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाएको छ ।  आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाका लागि सुझाव दिँदै राप्रपाले आयोगलाई मतपत्रमा कुनै पनि उम्मेदवारलाई भोट दिने इच्छा नभएमा ‘नो भोट’को व्यवस्था गर्न सुझाएको हो ।

यस्तै, पहिले नै दर्ता भइसकेको राजनीतिक दलसँग मिल्दोजुल्दो नाम, चुनाव चिह्न र झन्डासमेत पछि दर्ता हुन आउने दललाई नदिनेगरी आफ्नो योजनामा समेट्न राप्रपाले आयोगलाई सुझाएको छ । यस्तै, दर्ता रहेका पार्टीको नामको अगाडि वा पछाडि कुनै पनि प्रकारको विशेषण वा पुच्छर झुन्ड्याई नयाँ पार्टीको नाम राखी विधान दर्ता नगर्नसमेत राप्रपाले सुझाएको हो ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मिल्दोजुल्दो नाम र चिह्नका कारण मतदाता झुक्किने भएकाले त्यस्तो प्रावधान हटाउन आयोगलाई सुझाएको बताए ।

यस्तै, आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दललाई निश्चित निर्वाचन खर्च राज्यकोषबाट उपलब्ध गराउनुपर्ने, विद्युतीय मतदानको व्यवस्था गरिनुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनुपर्ने, चुनावलाई कम खर्चिलो बनाउन र निष्पक्ष निर्वाचन प्रणालीको प्रत्याभूति दिनका लागि सबै तहको निर्वाचन पूर्ण समानुपातिक बनाइनुपर्नेलगायतका सुझाव दिएको छ ।

त्यसका लागि संविधान र कानुनमा संशोधन गर्न आवश्यक पहल गर्न राप्रपाले आयोगलाई सुझाएको हो ।  राप्रपाको १६ बुँदे सुझावमा जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने र संघीय संरचनाअनुकूल आयोगको संगठनात्मक संरचनामा परिमार्जन गर्नुपर्ने सुझाव पनि राप्रपाले दिएको छ ।