टीकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन आज बाट सुरु

टीकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन आज बाट सुरु

टीकापुर  : थरुहट थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको थरुहट थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा सुरु भएको छ । टीकापुर स्थित सिटी हलमा सुरु भएको सम्मेलनका लागि टीकापुर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले सुरक्षा व्यवस्था कडा पारिएको र सुरक्षका लागि सबै उपाय अबलम्बन गरी प्रबिधी देखि संख्यात्मक रुपमा सबै तयारी गरेका बताउनुभयो । २०७२ साल भदौ ७ गते अर्थात आजकै दिन नेपाल प्रहरीका एसएसपी र एक जना नाबालक सहित ८ जनाको ज्यान जाने गरी टिकापुरमा भएको घटनाको ४ वर्ष पछि थरुहट थरुवान संघर्ष समितिले राष्ट्रिय सम्मेलन गर्न थालेको छ ।

सम्मेलनमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, किशोर नेपाल, विश्लेषक खगेन्द्र संग्रौला लगायतका वक्ताहरुको सहभागिता रहेको छ । २५ जिल्ला बाट करिव ८ हजार सहभागि उपस्थित गराउने लक्ष्य सहित सम्मेलन आयोजना गरिएको बताईएको छ । सम्मेलनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता अगाडी देखि नै टिकापुर तथा आसपासका क्षेत्रमा सुरक्षामा कडाई गर्दै आइरहेको थियो । लम्की बजार देखि नै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जसका लागि ठाउँठाउँमा चेक जाँचका साथै सादा पोशाकमा प्रहरीहरु समेत खटिईएको छ ।

टीकापुर क्षेत्रमा कुनै पनि उच्छृङ्खल क्रियाकलाप हुन नदिन आवश्यकता अनुसार सुरक्षाको सम्पूर्ण तयारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताउनुभयो । थारुहट थरुवान संघर्ष समितिका पदाधिकारीले टीकापुरमा सम्मेलन गर्नुको उद्देश्य सामाजिक सद्भाव बिगार्नु नभई सद्भावलाई कायम राख्ने भएको बताउदै आएका छन् । सम्मेलनको कार्यतालिका अनुसार भदौ ७ गते अर्थात आज उद्घाटन कार्यक्रम भइरहेको छ । भदौ ८ गते बन्दसत्र चल्नेछ भने ९ गते टीकापुर घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।