नेकपा विवाद, ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै दाहाल

नेकपा विवाद, ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै दाहाल

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालले मनाउने प्रयास थालेका छन् । अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ ।

दाहाल निवास खुमलटारमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् । प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमतिपत्र पार्टीमा बुझाएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालबीच चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।

ओली र नेपालबीच सम्बन्ध चिसिएसँगै दुईबीचको सम्बन्ध सुमधुर बनाउन दाहाल सक्रिय भएका हुन् । दाहाल सचिवालयका अनुसार खुमलटारमा भएको छलफलमा पार्टी एकताको बाँकी काम टुंग्याउन नेपाल सकारात्मक भए पनि आफ्नो अडान भने छाडेका छैनन् ।

पार्टीमा एक व्यक्ति, एक पद हुनुपर्ने र सचिवालय कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपश्चात् नेताहरूको जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरीयता हेरफेर गरेकोमा समेत चित बुझाएका छैनन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएपछि एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी अर्का अध्यक्ष दाहालले पाएका छन् । दाहालले सो जिम्मेवारी पाएसँगै वरिष्ठ नेतासँग सोही विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

पार्टी एकता घोषणा भएको १५ महिना बित्दासमेत एकताको केही काम टुंगो लगाउन अझै बाँकी नै छ । बाँकी काम टुंगो लगाउन दाहालले नेपाललाई सहमतिमा ल्याएर अगाडि बढ्न खोजेका हुन् ।

सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व, जिम्मेवारी बाँडफाँडलगायतका काम नेकपाले टुंगो लगाइसकेको छ । अब बस्ने सचिवालय बैठकले पोलिटब्युरो कमिटीका साथै आयोग, मञ्च, प्रवास कमिटी, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउनेछ ।

यसैगरी, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने विषयमा छलफल भएको छ । तर, अध्यक्ष ओली स्वदेश फर्किपछि मात्रै स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बस्ने स्रोतले जनाएको छ । एकताको बाँकी काम टुंगो लगाउँदै नेकपाले देशैभरि जागरण अभियानसमेत गर्ने तयारी गरेको छ ।

कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि  राजा–महाराजाजस्तै हुन्छन्– दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि राजा र महाराजाजस्तै हुने गरेको टिप्पणी गरेका छन् । ललितपुरस्थित स्टाफ कलेजमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले विश्वभरिका कम्युनिस्टहरू सत्तामा पुगेपछि आफूले गरेको त्याग, तपस्या र बलिदान बिर्सेर राजामहाराजाजस्तै हुने बताए ।
‘सत्तामा नपुगुन्जेल जनता, राष्ट्र र समाजको हितमा काम गर्छु भन्छन् र माक्र्सवादको वर्ग अध्ययन, चिन्तन, मनन गरी जनताको मन जित्न सफल हुन्छन्,’ दाहालले भने, ‘तर, यी सबै कुरा सत्तामा पुगेसँगै बिस्तारै बिर्सिदै र बुर्जुवाकरण हुँदै जान्छन् ।’
जनताका लागि लडेका कम्युनिस्ट नेता नै महाराजा बनेपछि जनताले नै उनीहरूलाई लखेट्न खोजेको उनको तर्क छ । ‘कम्युनिस्ट नेता नै राजा–महाराजाजस्ता हुँदै गएपछि राजा–महाराजाविरुद्ध लडेका जनताहरूले यिनलाई पनि लखेट्नुपर्छ भने, लखेटे,’ उनले भने । यस्तो विडम्बना इतिहासमा पनि देखेको उल्लेख गर्दै सोही लक्षण अहिले पनि देखिन थालेको उनले बताए ।

ओलीसँगको विवाद श्रीमान् श्रीमतीजस्तै–नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् ।

सहयोगीनगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले कार्यकर्ताहरूले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै ओली र आफूबीचको विवादलाई सामान्य रूपमा लिन आग्रह गरेका हुन् ।

विषयवस्तुमाथिको बुझाइमा एकरूपता ल्याउन, एजेन्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रूपमा बुझ्न पनि सुझाव दिए ।

‘नेताहरूबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो, यसमा अत्तिनुपर्दैन । घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? यो विवाद पनि त्यस्तै हो साम्य हुँदै जान्छ ।’

नेता नेपालले नेतृत्वले सुन्ने धैर्य गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने बताए । नेपालले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए ।