पार्टीभित्रकाे वादविवाद सामान्य हाे,श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्नुहाेस्: नेता नेपाल

पार्टीभित्रकाे वादविवाद सामान्य हाे,श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्नुहाेस्: नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ । 

सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो ।

विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उहाँले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिनुभयो । झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उहाँले राजनीतिमा पनि भागेर नभइ समस्याकाे सामना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने? बिहे गर्नु, छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु? समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । समस्याहरुको सामना गर्ने आँँट र सामर्थ्य हुनुपर्छ । यदि तपाईँमा सामर्थ्य छैन भने तपाईँ केही पनि गर्न सक्नुहुन्न ।’

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्य गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले ‘फूलको आँखामा फूलै सन्सार, काँढाको आँखामा काढै सन्सार’भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामर्थ्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताउनुभयो ।