नेपालको वानडे वरियता खस्कियो

नेपालको वानडे वरियता खस्कियो

नेपालको एकदिवसीय(वानडे) अन्तर्राष्ट्रिय वरियता खस्किएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको हो।

एक खस्किएको नेपाल १६औं स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो।नयाँ वरीयता अनुसार नेपालले ८ खेलबाट १९ रेटिङ र १ सय ४४ अंक पाएको छ। नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्।

वानडे वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड छ। यस्तै भारत, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान दोस्रो देखि दशौं स्थानसम्म छन्।

टी-ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भने नेपाल ११औं स्थानमा यथावत छ। नेपालले १४ खेलबाट २०१ रेटिङ र २८१८ अंक पाएको छ। नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । 

टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन्।