धनगढी : धनगढीमा भदौ १० गते गाईजात्रा विशेष कार्यक्रम हुने भएको छ। मुलुकको संघीय संरचना अनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने योजना अनुसार सुदूरपश्चिम प्रदेशको गाईजात्रा धनगढीमा हुने भएको हो। हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११ जना कलाकारको धनगढी गाईजात्रामा सहभागिता रहने छ ।
स्थानीय स्तरमा संयोजन गरिरहेको धनगढी जेसिज र जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर गाईजात्रा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिएका छन् । पाँच सय, एक हजार र एक हजार पाँच सय गरी तीन किसिमको टिकट दर तय गरिएको कार्यक्रमका संयोजक समेत रहेका धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष कलेन्द्र शाहीले बताउनुभयो ।
उक्त कार्यक्रमबाट संकलन भएको रकमबाट धनगढी जेसिजको बहुउद्येशीय सभाहल निर्माण गरिने धनगढी जेसिजका अध्यक्ष नरेन्द्रराज अवस्थीले बताउनुभयो ।
गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेल सहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउने आयोजकले जानकारी दिएको छ । १० गते साँझ ५ बजेदेखि ओम प्यालेसमा कार्यक्रम सुरु हुनेछ।