बजार अनुगमन टोलीद्धारा धनगढीबाट म्याद गुज्रेका वस्तु जफत

बजार अनुगमन टोलीद्धारा धनगढीबाट म्याद गुज्रेका वस्तु जफत

धनगढी : धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिले सोमबार धनगढीका विभिन्न पसलहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा धनगढीको लक्ष्मीनारायण चौक आसपासका किराना पसलहरूबाट ठूलो परिणाममा म्याद गुज्रेका वस्तुहरू जफत गरेको धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिको संयोजक योगेन्द्र चन्दले बताए।

चिसो पेयपदार्थ, काजु, किसमिस, दालमोट लगायतका वस्तुहरू म्याद नाघेको अवस्थामा फेला पारेको पनि संयोजक चन्दले बताए। धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज उपाध्यायले जफत गरिएका वस्तु नष्ट गर्ने बताए।

‘पहिलो पटक समान जफत गरिएको छ’ उपाध्यायले भने, ‘फेरि पनि यही अवस्था फेला पारेका कानुन अनुसार कारबाही अगाडि बढाइन्छ।’ राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले अव निरन्तर बजारको अनुगमन गरिने बताए। पटक पटक गल्ती दोहर्‍याउने व्यक्तिलाई बचाउनुपर्छ भन्नेमा आफू नरहेको बताए।

उनले भने, ‘हाम्रो उद्धेश्य बजारमा सुधार ल्याउनु हो।’ साउन ३२ गते बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय पनि गरेको थियो। चाडपर्वको मुखमा मात्रै गरिने अनुगमनले बजारको अवस्था सुधार आउन नसकेको भन्दै उप-महानगरपालिका क्यालेन्डर नै बनाएर अनुगमन गर्न सुरु गरेको बताइएको छ।