कैलारी गाउँपालिका ८ स्थित कटैनी नदीमा पुल बनेपछि स्थानीय खुशी

कैलारी गाउँपालिका ८ स्थित कटैनी नदीमा पुल बनेपछि स्थानीय खुशी

धनगढी : कैलालीको कैलारी गाउँपालिका ८ स्थित कटैनी नदीमा पुल बनेपछि स्थानीय खुशी भएका छन्। पुल निर्माणसँगै वर्षाैनदेखि भोग्दै आएको दुःख हटेको स्थानीयले बताएका छन्। नदीमा पुल नहुँदा स्थानीयले धेरै समस्या भोग्दै आएका थिए। झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय सीताराम चौधरीले बताए।

‘अब गाउँघरवासी हामीलाई ओहोर-दोहोरमा सहज भएको छ’, उनले भने।  पुल नहुँदा बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो। उनीहरू ज्यान जोखिममा पारेर खोला तर्ने गरेका थिए। यसैगरी ठूलो बाढी आउँदा ओहोर-दोहोरका लागि उजलीसेमरा पुग्ने गरेका थिए।

उक्त झोलुङ्गे पुलले पूर्व टेंढी र लोहरपुर गाउँलाई जोडेको छ। यसैबीच, नवनिर्मित झोलुङ्गे पुलको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आइतबार उद्घाटन गरेका छन्। एक कार्यक्रमका बीच उनले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन।

सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले झोलुङ्गे पुल निर्माणले जनतालाई आवतजावतमा सहज भएको बताए। उनले गाउँपालिकाको अन्य ठाउँमासमेत झोलुङ्गे पुल निर्माण भइरहेको जनाउँदै जनताको समस्या समाधान गर्न र विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

‘हामी क्रमैसँग विकास र जनताको समस्या समाधान गर्दै जानेछौं’, चौधरीले भने।  गाउँपालिकाको ५२ लाख २५ हजार रुपैयाँ लागत र स्थानीय समुदायको जनश्रमदानबाट झोलुङ्गे पुलको निर्माण गरिएको हो। उक्त पुलको निर्माण कार्य २०७५ जेठ १ गतेबाट सुरु गरिएको थियो। पुल उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष दुखीराम कठरिया, वडा सदस्य, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो।