पार्टी वरीयतामा नेपाल अब खनालपछि

पार्टी वरीयतामा नेपाल अब खनालपछि

नेपाल कम्युनिस्ट पार्टीको दुई अध्यक्षपछिको वरीयताको विवाद टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षपछिको वरीयतामा नेता झलनाथ खनाललाई पहिलो र दोस्रोमा माधवकुमार नेपाललाई राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय कमिटी बैठकले नेता खनालको दोस्रो वरीयता निर्धारण गरेको हो । पूर्वप्रधानमन्त्री खनाल र नेपालबीचको वरिष्ठ भन्ने विवाद नेकपा गठन भएदेखि नै रहँदै आएको थियो । दुवै नेताले वरीयतामा आफू अगाडि हुनुपर्ने दाबी गर्दै आइरहेका थिए ।

नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई नेपालभन्दा अघिल्लो वरीयतामा राख्न प्रस्ताव गरेका थिए । बैठकमा ओलीको प्रस्तावमा नेपालले आपत्ति जनाएका थिए । खनालले तत्कालीन एमालेको नवौं महाधिवेशनपछि आफू ओलीपछिको वरिष्ठ नेता भएको दाबी गर्दै आएका थिए ।

नेता नेपालले भने नवौं महाधिवेशनअनुसार अघि बढ्ने भए सो महाधिवेशनबाट निर्वाचित पाँचमध्ये तीन उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

‘पाँच उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति भइन् । वामदेव गौतम उपाध्यक्ष भए,’ स्रोतले नेता नेपालको भनाइ उद्धृत गर्दै भन्यो, ‘बाँकी उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि उपाध्यक्ष बनाउनुपर्छ ।’ गौतमलाई अघिल्लो सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

नेता नेपालले यी तीन नेतालाई ईश्वर पोखरेलको भन्दा माथिल्लो वरीयता दिनुपर्ने बताए । नवौं महाधिवेशनमा पोखरेल महासचिव निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशन १९ असार २०७१ देखि १ साउनसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो ।

वरीयतामा आफूलाई चौथोमा पु¥याएकोमा नेता नेपालले असन्तुष्टि जनाएका छन् । उनले पार्टी एकता पछि नेतृत्वले सबैलाई समेट्नुपर्नेमा त्यसो गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठनलगायतको एकता पनि आइतबार टुंग्याएको हो । त्यसैगरी, ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि अझै टुंगिन बाँकी छ । यसैगरी, नेकपाले एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएको छ ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान वरिष्ठ नेता नेपालसँग विवाद टुंग्याउन छलफल गरेका थिए । छलफलमा नेकपा सचिवालयको पछिल्लो बैठक, वरीयतालगायत विषयमा नेता नेपालको असन्तुष्टि र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरेका थिए ।

गत शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वरिष्ठ नेताको एक नम्बरमा आफूलाई राख्नुपर्ने बताएका थिए । दुई अध्यक्षहरू पनि त्यसमा सकारात्मक भएको र आइतबारको सचिवालयमा पनि दुई अध्यक्षले आफूहरूको निर्णय नै यही भएको बताएपछि वरीयता विवाद टुंगिएको हो ।

सचिवालयमा पोलिटब्युरो गठनका विषयमा भने समस्या उत्पन्न भएको छ । नेता नेपालले आफूलाई वरीयतामा चौथो स्थानमा पु¥याएपछि असन्तुष्टि जनाउँदै पोलिटब्युरो गठनमा आफ्नो सहमति नहुने भन्दै आपत्ति जनाएको स्रोतले जनाएको छ ।

‘पार्टी विधानमै भएको पोलिटब्युरो गठनका विषयमा कुनै चासो नदेखाउने तर विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर व्यक्ति व्यक्ति रिझाउने अध्यक्षद्वयको प्रवृत्तिप्रति पनि नेपाल असन्तुष्ट हुनुहुन्छ,’ नेपालनिकट एक नेताले भने, ‘उहाँहरूबीच पार्टीको पोलिटब्युरो गठनका विषयमा पनि छलफल भए पनि त्यसमा नेता नेपालको असहमति छ ।’ नेकपाको विधानमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र महासचिव हुने प्रावधान छ ।