‘रवि लामिछाने पक्राउ’ विषयमा प्रहरीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गाली गर्ने अछामबाट पक्राउ

‘रवि लामिछाने पक्राउ’ विषयमा प्रहरीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गाली गर्ने अछामबाट पक्राउ

‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने एक युवा अछामबाट पक्राउ परेका छन्। लामिछानेका समर्थक ती युवाले काठमाडौं परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई ‘रवि दाइलाई फसाउने यो भ्रष्ट हो’ भन्दै स्टाटस लेखेका थिए।

काठमाडौं परिसरको अनुरोधमा मंगलसेन नगरपालिका-५ का २१ वर्षीय शंकर विकलाई पक्राउ गरी काठमाडौं पठाइएको अछामका प्रहरी नायब उपरीक्षकले  बताएका छन्।

‘काठमाडौं परिसरले हामीलाई पक्राउ गरी पठाउने भनी पठाएको पत्रका आधारमा उनलाई समातेर अनुसन्धानका लागि उतै पठाइएको हो,’ शाहीले भने।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेलाई महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो।

साउन ३० गते पक्राउ परेका लामिछानेमाथि आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले भने विक पक्राउ परेको विषयमा औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन।

‘उनी पक्राउ परेको हो भन्ने हामीलाई जानकारी छैन,’ प्रवक्ता होविन्द्र बोगटीले भने।उनले विकलाई काठमाडौं ल्याइँदै गरेको विषयमा पनि प्रतिक्रिया दिएनन्।