महाकाली करिडोर अन्योलमा

महाकाली करिडोर अन्योलमा

 महेन्द्रनगर : योजना सुरु भएको एक दशक बितिसक्दा महाकाली करिडोरको निर्माण गति सुस्त छ। कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म निर्माण हुने महाकाली करिडोरअन्तर्गत ब्रह्मदेवमा सडकको ट्र््याक खोल्ने काम समेत सुरु भएको छैन। २०६६ सालमा सुरु भएको महाकाली करिडोर ४२५ किलोमिटरको छ।

दार्चुला, बैतडी र डडेल्धुरामा ट्र्याक खोल्ने र सडक चौडा बनाउने काम भइरहेको महाकाली करिडोर दार्चुला तिंकर सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। पछिल्लो समय नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक नाकाका रूपमा विकास गर्ने भनिए पनि त्यहाँसम्म पुग्ने मार्ग निर्माणमा भने ढिलाइ हुँदै गएको छ।

कञ्चनपुरको ब्रह्मदेवमा तीन वर्षअघि दश किलोमिटर ट्र्याक खोल्ने सम्झौता भए पनि ट्र्याक खोल्ने कुनै सुरसार देखिएको छैन। महाकाली करिडोरअन्तर्गत चार जिल्लामा ट्र्याक खोल्न तीन वर्षअघि ५२ करोडमा ठेक्का सम्झौता भएको थियो।

महाकाली करिडोर दार्चुला तिंकर सडक योजना कार्यालयका इन्जिनियर रैखोलाले कञ्चनपुरमा ट्र्याक खोल्नुपर्ने ठाउँमा चुरे पहाडका रुख पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट नआउँदा काम गर्न नसकिएको बताए।

यस वर्षका लागि कुल १ अर्ब ३३ करोड लागत अनुमान गरिएको भए पनि सीमित बजेटले योजनाको कामले गति लिन नसकेको हो। चालु वर्षमा संघीय सरकारबाट ३२ करोड रकम मात्रै विनियोजन भएको छ।

आयोजनाका लागि आवश्यकता अनुसार बजेट नआउँदा कामले तीव्रता लिन नसकेको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका प्रमुख अच्युत विकास पन्तले बताए। पहाडी चट्टान फुटाउन विस्फोटक पदार्थको अभाव हुँदा पनि केही समय काम प्रभावित हुन पुगेको योजना कार्यालयको भनाइ छ।