मन्त्री लालबाबु पण्डितको प्रश्न : जनप्रतिनिधि बन्‍ने की ठेकेदार ?

मन्त्री लालबाबु पण्डितको प्रश्न : जनप्रतिनिधि बन्‍ने की ठेकेदार ?

बागलुङ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिलाई जनताको सेवक वा ठेकेदार के बन्ने रोज्न सुझाव दिएका छन्। 

बागलुङ जिल्लाका ८५ वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको सहभागिता रहेको जिल्ला स्तरीय भेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री पण्डितले कतिपय जनप्रतिनिधिलाई डोजर मालिक र ठेकेदार बन्ने मोह देखिएको बताए। 

‘अहिले तपाईहरु मत जितेर जनप्रतिनिधि बन्नु भएको छ, विश्वासको मत हलचल भइरहन्छ,’ मन्त्री पण्डितले भने, ‘यो नै तपाईंको अन्तिम अवसर नहोेस्। अहिले अख्तियारको हिरासत कर्मचारी, इञ्जिनियरले भरिन थालेको छ, जनप्रतिनिधिको पनि यस्तो दुखदायी दिन हेर्नु नपरोस्।’

उनले सिहंदरबार गाउँगाउँमै आइसकेको समेत जिकिर गरे। ‘अझै पनि सिहंदरबार गाउँगाउँमा भन्ने नारामा मात्र सिमित भयो भन्ने सुनिन्छ, तपाईहरु पनि भन्नुहुन्छ,’ मन्त्री पण्डितले थपे, ‘कार्यकारी अधिकार दिइएको छ, अर्धन्यायिक र व्यवस्थापकीय अधिकार दिइएको छ, सिहंदरबार भनेको मुर्ति नै लिएर राख्दिने त होइन ?’ पण्डितले अहिले मुख्यमन्त्री, मन्त्री, गाउँपालिका नगरपालिकाका प्रमुखबीच गाडी र अन्य सेवा सुविधाका लागि अनौठो प्रतिस्पर्धा भइरहेको प्रति आक्रोश व्यक्त गरे। 

आन्तरिक श्रोतको पहिचान र व्यवस्थापन गरेर विकास र समृद्धिमा स्वास्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको मन्त्री पण्डितको भनाइ छ। 

जिल्ला स्तरीय भेलाले वडाध्यक्ष, सदस्य सम्मिलित वडा सघंको गठन गर्नेछ। सघंले संघीयताको अवधारणलाई स्थानीय तहमा संस्थागत गर्न सहजीकरण, स्थानीय, प्रदेश र केन्द्रीय तहसँग वडाका समस्याका विषयमा समन्वय, वडा समितिबीच अनुभव आदान प्रदान लगायतका काम गर्ने बागलुङ नगरपालिका ९ का अध्यक्ष गणेश थापाले जानकारी दिए।