बाल विवाहविरुद्ध जागे बाँकेका किशोरी

बाल विवाहविरुद्ध जागे बाँकेका किशोरी

नेपालग‌ंजबाँकेका किशोरीहरु बाल विवाहविरुद्ध अभियानमा लागेका छन्। जिल्लाका आठ वटै स्थानीयमा गठित किशोरी क्लबले शुक्रबार आ–आफ्नो स्थानीय तहमा ज्ञापन पत्र बुझाउँदै स्थानीय तहलाई बाल विवाह मुक्त घोषणा गर्न माग गरेका छन्। 

नेपालगंजको उज्ज्वल किशोरी क्लब, कोहलपुरको सचेतन किशोरी क्लब, खजुराको समावेशी किशोरी क्लब, जानकीको सिर्जनशील किशोरी क्लब, बैजनाथको एकता किशोरी क्लब, डुडुवाको प्रगतिशील किशोरी क्लब, नरैनापुरको सिर्जनशील किशोरी क्लब र राप्ती सोनारीको समावेशी किशोरी क्लबले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्। 

उनीहरुले स्थानीय तहसँग १२ बुँदे माग गर्दै बालविवाह मुक्त वडा घोषणा गर्ने उद्देश्य अनुरुप क्रियाकलाप सन्चालन गर्नुपर्नेमा जोड दिएका छन्। बालविवाह रोकथामको विषयलाई स्थानीय सरकारबाट प्राथमिकतामा राख्नुपर्ने, बाल विवाह न्यूनिकरणका लागि कार्ययोजना बनाएर बजेट छुट्याउनु पर्ने माग गरिएको छ। 

त्यसैगरी माध्यमिक शिक्षामा बालबालिकाको पहुँच पुर्‍याउनका र बाल विवाहको जोखिमबाट टाढा राख्नको लागि शिक्षा सम्बन्धी विशेष प्याकेज ल्याउनु पर्ने र बालविवाह रोकथाम गर्न बाल क्लब र किशोरी क्लबहरुलाई परिचालन गर्नुपर्ने सुझाव छ। 

‘कम उमेरमा विवाह गर्दा बालबालिकाको स्वास्थ्य, शिक्षा र व्यक्तिगत जीवनमा नकारात्मक असर पर्ने’ भन्दै किशोरीहरुले बिहेको उमेर घटाउनेबारे माग तर्क संगत नभएको र बालअधिकारको साथ साथै मानवअधिकारको हनन भएकोबारे स्थानीय तहलाई ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय जनगणना २०६८ ले बाँके जिल्लामा १९ वर्ष मुनिका ८०.२ प्रतिशत महिलाको विवाह हुने गरेको देखाएको छ।