नेकपा वरीयता : माधव नेपाल भन्दा माथि राख्न झलनाथ खनालको प्रस्ताव

नेकपा वरीयता : माधव नेपाल भन्दा माथि राख्न झलनाथ खनालको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार ३२ विभागको नेतृत्व टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले लामो तयारीपछि विभिन्न विभागको जिम्मेवारी टुंगो लगाएको हो। 

यसरी विभिन्न विषयको टुंगो लाग्दा पार्टी एकताको समयमा विदेश रहेका वरिष्ठ नेता झलनाथ खनालले वरिष्ठ नेता माधव नेपालभन्दा आफू माथि हुनुपर्ने प्रस्ताव गरेका छन्। 

वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा वरीयतामा आफूलाई माथि राख्न लिखित प्रस्ताव बैठकमा पेस गरेका हुन्। सचिवालय बैठकमा नेता खनालले राखेको प्रस्तावमाथि छलफल भएको नेताहरूले बताए। आफू विदेशमा रहेका बेला आफ्नो वरीयता तल झारिएको भन्दै खनालले अध्यक्षद्वयसँग असन्तुष्टि जनाउँदै आएका छन्। 

तत्कालीन एमालेमा नेपालभन्दा आफू पहिले वरिष्ठ नेता भएको खनालको तर्क छ। खनालको प्रस्तावमाथि सचिवालयको आगामी बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन्। खनाल पार्टीमा चौथो वरीयतामा छन्। खनालको प्रस्ताव पारित भए अध्यक्षद्वयपछिको वरीयता पाउनेछन्। अहिले अध्यक्ष पछिको वरीयतामा वरिष्ठ नेता नेपाल छन्।