झारपात नाश गर्ने विषादीको माग उच्च

झारपात नाश गर्ने विषादीको माग उच्च

कञ्चनपुर  ः कञ्चनपुरमा झारपात नाशक बिषादीको खपत बढ्को छ। पर्याप्त बर्षा नहुँदा धानबालीमा झारपातको समस्या देखिए पछि किसानले झारपात मार्नका लागि बिषादीको प्रयोग गर्न थालेका हुन।

झारपातले बाली नसप्रने भएपछि किसानले खेतमा रोपेको धानबालीमा बिषादीको प्रयोगलाई बढावा दिन थालेका छन। एक जना किसानले  पाँच हजारदेखि १२ हजार सम्मको बिषादी खेतमा छर्केका छन।  शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा रहेको डिके एग्रोभेट बाट मात्रै एक महिनाको अवधिमै तीन लाख बढीको बिषादी बिक्री भएको छ।

ओराजो स्टार, नौ मिनी गोल्ड लगायतका झारपात नाशक बिषादीको बिक्री बढेको एग्रोभेटका सञ्चालक खुसिराम चौधरीले बताए। ‘किसानले खेतमा झारपातको समस्या दर्शाउँदै बिषादीको माग गर्छन। त्यसै अनुरुप बिषादी उपलव्ध गराउँदै आएका छौं’ उनले भने।  विगतका बर्षहरूमा थोरै मात्र बिषादीको बिक्री हुने गरेको भएपनि यस वर्ष बिषादीको खपत धेरै भएको उनकोे भनाई रहेको छ। 

जिल्ला भरीमा  २० लाख बढीको बिषादीको खपत भएको एग्रोभेट सञ्चालकहरूको भनाई रहेको छ। बिषादीले मानव स्वास्थ्यमा नराम्रो असर पर्ने कुरा थोरै मात्र किसानलाई थाहा हुँदा यसको प्रयोगलाई बढावा दिन थालेका छन। कृषि प्राविधिकहरूका अनुसार झारपातको समस्या निराकरण गर्नका लागि बिषादी खरिद गर्ने पैशाले मजदुर लगाएर घाँस हातैले निकाल्दा उपयुक्त हुने बताउद छन। 

'धान खेतमा झारपात नभएपछि धानको उत्पादन अधिक हुन्छ' स्थानीय किसान मीना चौधरीले भनिन्, ‘धानको उत्पादन बढाउनका लागि बिषादीको प्रयोग गरेका छौं। मानव स्वास्थ्यमा असर पुर्‍याउने कुरा भने थाहा छैन।’ बिषादीले पुर्‍याउने हानी बारे किसानलाई जनचेतनामूलक कार्यक्रम गरी जानकारी दिनु पर्ने उनको भनाई रहेको छ।