प्रधानमन्त्रीको सिंगापुर बसाई अझै लम्बियो

प्रधानमन्त्रीको सिंगापुर बसाई अझै लम्बियो

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ। उपचारका क्रममा एक सातादेखि सिंगापुरमा रहेका प्रधानमन्त्री शनिबार आउने तयारीमा थिए। तर एक दिन लम्ब्याएर आइतबारका लागि तय गरिएको उनको फिर्ती पुनः एक दिन सारिएको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सोमबार दिउँसो साढे १२ बजे स्वदेश आइपुग्ने गरी कार्यतालिका परिवर्तन भएको जानकारी दिए।

साउन १८ मा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ।

टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा। डा। दिब्या सिंहसहित ९ जना छन्।

यसअघि थाइल्यान्डको बैंककस्थित बुमरुनग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा नियमित फलोअप चेकअप गराउँदै आएका प्रधानमन्त्रीले यसपटक सिंगापुरमा स्वास्थ्य परीक्षण गरेका हुन्।

छातिमा संक्रमण भएपछि २०७५ कात्तिकमा ओली पाँच दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। दुई साताअघि उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको थियो।

ओलीको २०६४ साल असारमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।