नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीका अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिकाका बारेमा छलफल हुने भएको छ ।
अन्तरिम संरचना निर्माणका लागि तयार पारिएको निर्देशिकाबारे छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ । बैठकमा असार २२ गते महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका अन्य एजेण्डाका बारेमा पनि छलफल हुने बताइएको छ ।
साउन १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठनका लागि निर्देशिका निर्माण गर्ने निर्णय गरेको थियो ।
यसअघि पार्टीका अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिका निर्माणमा ढिलाइ भएका कारण बुधबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । निर्देशिका तयारीको काम जारी रहेकाले बुधबारका लागि डाकिएको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको थियो ।