म नजन्मिएको भए...(लघुकथा)

म नजन्मिएको भए...(लघुकथा)

सुनसान रात, न चराको चिरिबिरी सुनिएको छ न कुकुर भुकेको नै। काठमाडौं यसअघि उसलाई कहिल्यै यति शान्त लागेको थिएन।

तर, यस्तो अवस्थामा पनि उ निदाउन सकेन। उसलाई आफू जन्मिएकोमा पश्चात्ताप लाग्यो। मनमा कुराहरु खेलाउन थाल्योः

म जन्मिएर के भएको छ र?

नौ महिनासम्म आमाको कोखमा रहँदा आमालाई कति कष्ट भयो होला । जन्माउनु, हुर्काउनु, पढाउनु जस्ता कर्म गराउनु पनि त कहाँ त्यति सहज भयो होला र!

मेरा दाइ–भाइहरु पनि निकै दुःखी भए होलान्। यो धर्तीमा उनीहरुलाई धनी मानिस बन्नु थियो। म नजन्एिको भए मेरो भागको अंश पनि उनीहरुकै भागमा पर्थ्याे होला।

यो धर्तीमा मेरो आगमन नभएको भए अहिले मेरो आँखाले देखिरहेका हत्या–हिंसा–बलात्कार, चोरी–डकैती, भ्रष्टाचार, रोग–भोक–अभाव आदि देख्ने र भोग्न पर्दैनथ्यो होला।

म नजन्मिएको भए काठमाडौंको जाम, धूलो र महंगीको सामना गर्नु पर्थेन होला। मेरी प्रेमिकाले धोका बेहोर्दैनथिन् होला।

सबैभन्दा ठूलो कुरा त म मर्नु पर्थेन होला। हो, म नजन्मिएको भए... !!