मतदाता नामावली रुजु गर्दै निर्वाचन कार्यालय

मतदाता नामावली रुजु गर्दै निर्वाचन कार्यालय

कञ्चनपुर : जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले थप सङ्कलन भएका मतदाता नामावली रुजु गर्ने कार्य शुरु गरेको छ । स्थानीय, प्रदेश र सङ्घको निर्वाचनपछि सङ्कलन भएका नामावली रुजु गर्ने कार्यमा निर्वाचन कार्यालय जुटेको हो ।

जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा सङ्कलन भएका मतदाता नामावली जिल्लास्तरमा रुजु गर्ने कार्य भइरहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश भट्टले बताए । उहाँका अनुसार थप सङ्कलन भएकामध्ये महिला पाँच हजार चार सय र पुरुष ६ हजार ४ सय ५४ गरी कूल ११ हजार ८५४ मतदाता रहेका छन् ।

'सङ्कलन भएका मतदाताको नाम थर मिले नमिलेको सच्याउने, क्रमवद्ध रुपमा राख्ने र अन्य गल्ती सच्याउने कार्य भइरहेको छ,' उनले भने ।

रुजु भएका नामावलीलाई क्रमवद्ध रुपमा मिलाएर राख्ने काम भइरहेको छ । साउन १७ गतेदेखि मतदाता नामावली रुजु गर्ने कार्य हुन थालेपछि थप मतदाता नामावली सङ्कलनको काम बन्द गरिएको छ ।

आउँदो स्थानीयय तहको निर्वाचनका लागि यस कार्यले सघाउ पु¥याउने छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको एक वडाका लागि उप निर्वाचन हुने भएको छ ।

जिल्लामा रुजु गरिएको नामावली आयोगको कार्यालयमा पठाएर अन्तीम रुजु गरेपछि जिल्लामा आउने बताइएको छ । थपसहित कञ्चनपुरमा दुई लाख ७६ हजार ८ सय २९ मतदाता पुगेका छन् ।

स्थानीय तहको निर्वाचनका बेला कञ्चनपुरमा दुई लाख ६४ हजार ९ सय ७५ मतदाता रहेका थिए ।