लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थलको कामलाई प्राथमिकता दिन्छौं : पर्यटनमन्त्री भट्टराई

लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थलको कामलाई प्राथमिकता दिन्छौं : पर्यटनमन्त्री भट्टराई

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो ।

आगामी डिसेम्बर महीनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भन्नुभयो “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।

”कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उहाँले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताउनुभयो । उहाँले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाउने बताउनुभयो

विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताउनुभयो । “निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो।

अहिले काम तीव्र रुपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो । धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उहाँले बताउनुभयो ।

नियुक्त भएपछि पहिलोपटक रुपन्देही आउनुभएका मन्त्री भट्टराईले उक्त विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुग्नुभएको थियो ।