एक इन्चको स्क्रिन भएको विश्वकै सबैभन्दा सानो आकारको ल्यापटप !

एक इन्चको स्क्रिन भएको विश्वकै सबैभन्दा सानो आकारको ल्यापटप !

सामान्य ल्यापटपको स्क्रिन १३ इन्च सम्मको हुन्छ । तर मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटपको पनि निर्माण भएको छ भन्दा अचम्म लाग्न सक्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् ।

पल क्लिन्गर जसले यो कम्प्युटरको निर्माण गरेका थिए उनले उक्त कम्प्युटरलाई पनि थिंक टाइनी नामाकरण गरेका छन् । यो ल्यापटपलाई आई बिएमको थिंकप्याडको सानो रुप मानिएको छ । हाल लेनेभो कम्पनीले थिंकप्याड बनाउँदै आएको छ ।

क्लिंगरले यो मिनि–ल्यापटपमा ०.९६ इन्चको डिस्प्ले राखेका छन् । साथै यो ल्यापटपमा थिंकप्याडमा जस्तै किप्याडको बीचमा रातो रङको ट्रयाकप्वाइन्ट स्टाइल कर्सर कन्ट्रोलर राखिएको छ । मिनी ल्यापटपको किप्याडमा रहेको रातो बटनलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसका पाटपूर्जामा उनले करिब ७० डलर खर्च गरेका थिए भने कस्टम प्रिन्टेड सर्किट बोर्डका लागि १५ डलर खर्चिएका थिए । मिनी ल्यापटपमा ३०० मिली एम्पियर आवरको ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई रिचार्ज पनि गर्न सकिन्छ ।

यसमा टिपी ५४०० ब्याट्री चार्जर उपलब्ध छ । ल्यापटपमा अन्य कम्पोनेन्ट्स पनि उपलब्ध छन् । खास विशेषता त यो ल्यापटपमा गेम पनि खेल्न सकिन्छ । १ इन्चको सानो स्क्रिनवाला यो ल्यापटपमा स्नेक, लुनर ल्याण्डर तथा टेट्रिस लगायतका गेम खेल्न सकिन्छ ।

दुनियाँकै सानो आकारको ल्यापटप तयार गरेता पनि यसका निर्माता पल क्लिन्गरले तत्कालै यो ल्यापटप बजारमा पठाउने सोच बनाएका छैनन् ।