सन्दीपको टिम टोरन्टो प्लेअफमा

सन्दीपको टिम टोरन्टो प्लेअफमा

क्यानडामा जारी ग्लोबल टी–२० मा नेपाली लेग स्पीनर सन्दीप लामिछाने समिलित टीम टोरन्टो नेसन्स प्लेअफमा स्थान बनाउन सफल भएको छ। बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्ले अफमा पुगेको हो।

सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १९० रनको लक्ष्य पछ्याएको मोन्टरियलले १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र  बनाउन सक्यो। मोन्टरियलका म्याथ्यु क्रसले सर्वाधिक ३९ रन जोड्दा दिनेश चण्डीमालले ३६ रन बनाए। त्यस्तै केली कोट्जरले १८ र निखिल दत्तले १२ रन जोड्नु बाहेक मोन्टरियलका अन्य खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

मोन्टरियललाई सस्तैमा रोक्न टोरन्टोका मिचेल मेग्क्लेनघन र कृष ग्रीनले समान ३–३ विकेट लिए त्यस्तै जेरोमी गार्डोनले २ विकेट लिँदा सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको उच्च स्कोर बनाएको थियो।

टोरन्टोका लागि  रोड्रिगो थोमसले ७० तथा हेन्रीच क्लासेनले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा टीमले राम्रो लक्ष्य बनाउन सक्यो। मोन्टरियलका थिसरा परेराले २ विकेट लिए। जितसँगै टोरन्टो लिगको तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको छ। टोरन्टोले ६ खेलमा ६ अंक बनाउन सफल भयो।

६ खेलमा ५ अंक जोडेको मोन्टरियल प्रतियोगिताबाट बाहिरिएको छ। अब टोरन्टोले इलिमिनेटरमा अर्का नेपाली खेलाडी सोमपाल कामी रहेको वेनिपेग होक्ससँग खेल्नेछ। होक्स तालिकाको चौंथो स्थानमा रहेर प्ले अफ पुगेको हो। यस्तै पहिलो क्वालिफायरमा भने शीर्ष स्थानमा रहेको ब्रामटन वुल्भ र दोस्रो स्थानको भ्यानकुभर नाइट्सबीच प्रतिष्पर्धा हुँदै छ। उक्त खेलको विजेताले सिंधै फाइनलमा स्थान बनाउने छ। पराजित हुने टिमले पुन दोस्रो मौका पाउने छ।