जिम्बाबेमाथि आइसिसी प्रतिबन्ध : खेलाडीले खेल्न पाउने सम्भावना पनि समाप्त

जिम्बाबेमाथि आइसिसी प्रतिबन्ध : खेलाडीले खेल्न पाउने सम्भावना पनि समाप्त

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै तीन वर्षअघि नेपाल क्रिकेट संघ क्यानलाई आइसिसीले निलम्बन गर्‍यो। तर, खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमा कुनै अवरोध गरेन्। आफ्नै निगरानीमा रहने गरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अधिकार दियो।

सोहीअनुसार नेपाल अहिले पनि आइसिसीको अनुमतिमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीरहेको छ। नेपलाको 'केस'लाई नै आधार मानेर जिम्बाबेका खेलाडी पनि संघ प्रतिबन्धमा भए पनि आफूहरूले खेल्न पाउने आसामा बसेका थिए। तर, मंगलबारको एक अर्को निर्णयसँगै उनीहरूको आसमा तुषारापात भएको छ। अब जिम्बाबेले विश्वकप टी–२० छनोट खेल्न पाउने छैन्।

जिम्बाबेको पुरुष र महिला दुवै टिमलाई टी–२० विश्वकप छनोटको मौका नदिने आइसिसीले निर्णय गरेको छ। आइसिसीले जिम्बाबेको सट्टा नाइजेरियालाई टी–२० विश्वकप छनोटको मौका दिएको छ। नाइजेरिया २०२० अन्डर–१९ विश्वकपमा समेत छनोट भएको छ। आगामी महिना स्कटल्याण्डमा आयोजना हुने महिला टी–२० विश्वकप छनोटमा जिम्बाबेको सट्टा नामिबियालाई मौका दिइएको छ।

११ अक्टोबरदेखि युएईमा आयोजना हुने टी–२० विश्वकप छनोटमा आयोजक युएईसहित हङकङ, आयरल्याण्ड, जर्सी, केन्या, नामिबिया, नेदरल्याण्ड, ओमान, पपुवा न्यु गिनी, स्कटल्याण्ड, सिंगापुर, नाइजेरिया र यो महिना अन्त्यमा अमेरिकाको फाइनलबाट आउने अन्य २ गरी १४ टोली सहभागी हुनेछन्।

यस्तै महिला टी–२० विश्वकप छनोटमा स्कटल्याण्ड, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, थाइल्याण्ड, अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल गत हफ्ता सिंगापुरमा सम्पन्न टी–२० विश्वकप छनोटमा तेस्रो स्थानमा रहेर ग्लोबल छनोटअघि नै बाहिरिएको थियो।

यस्तोमा नेपालले जिम्बाबेको सट्टामा मौका पाउँछ कि भन्ने अनुमान गरिए पनि त्यस्तो केही भएन। सिंगापुर प्रतियोगिताको विजेताको रूपमा र युएई प्रतियोगिता आयोजकको रूपमा छनोट खेल्नका लागि मौका पाएको छ। नाइजेरिया टी–२० विश्वकप छनोटमा अफ्रिकातर्फ तेस्रो स्थानमा रहेको थियो।

नामिबिया पहिलो र केन्या दोस्रो हुँदै छनोट भएका थिए। अफ्रिकाको टिमको ठाउँमा अफ्रिकालाई नै मौका दिनु पर्ने आवाज उठेपछि नाइजेरियाले एक अर्को राम्रो मौका पाएको हो।

आइसिसीले जिम्बाबेको सट्टा अफ्रिकाकै अर्को टिमलाई मौका दिएपछि नेपाली क्रिकेट टिम वरीयतामा ११ औं स्थानमा रहेको अघिल्लो चरण खेल्ने अवसर मिल्ने विश्वासको अब औपचारिक अन्त्य भएको छ। टी–२० विश्वकप छनोटमा सहभागि शीर्ष १४ टीमबाट २०२० मा अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि शीर्ष ६ टिम सहभागी हुनेछन्।