उद्योग सचिव खतिवडा नआएपछि लेखा समितिको बैठक बसेन, सचिवलाई स्पष्टीकरण

उद्योग सचिव खतिवडा नआएपछि लेखा समितिको बैठक बसेन, सचिवलाई स्पष्टीकरण

काटमाडौं : उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि हुवासिन सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । चिनियाँ लगानीमा निर्माणाधिन सो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण स्थगित गरिएको हो । 

समितिलाई जानकारी समेत नदिई बैठकमा अनुपस्थित भएका उद्योग सचिव खतिवडासँग समितिले स्पष्टीकरण पनि लिने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले तराईमा रहेका कारण आफू बैठकमा आउन नसकेको जानकारी समितिलाई दिएपनि सचिव खतिवडाले नदिएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए । 

चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधिन सो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तर्गतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो । सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा सो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ ।

त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ । सचिव पाण्डेले समितिको अर्को बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई पुनः बोलाएर सो सम्बन्धमा विस्तृत छलफल गर्ने बताए ।