नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु पक्राउ

नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु पक्राउ

नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन, सहितका नेता पक्राउ परेका छन् ।

जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ । कश्मीरी पण्डितले सरकारको घोषणाको स्वागत गरे पनि मुस्लिम बाहुल्य क्षेत्रमा भने विरोध भइरहेकाले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू–कश्मीरको विशेष अधिकार खारेज गर्ने र लद्दाखलाई केन्द्र सरकारको मातहत राख्ने निर्णय गरेको भारत सरकारले यस्ताे थप कदम चालेको हो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल जम्मू कश्मीर गएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । डोभल कडा सुरक्षा बन्दोबस्तका साथ जम्मू कश्मीर गएको खबरमा उल्लेख छ ।

यो प्रस्ताव आज भारतको लोकसभामा पेस हुँदैछ । 

यसैबीच भारतकोले जम्मू–कश्मीरसम्बन्धी आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास थालेको छ । पाकिस्तानले त्यो निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँगको संवाद सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि जम्मू कश्मीरमा थप ८ हजार सुरक्षाकर्मी पठाइएको छ । त्यसअघि नै दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

टर्की आफ्नो पक्षमा रहेको पाकिस्तानको दावी 

यसैबीच जम्मू कश्मीरका बारेमा टर्कीले आफूलाई सहयोग गर्ने भएको पाकिस्तानले दावी गरेको छ । भारतको कदमसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन कुराकानीमा टर्कीका राष्ट्रपति रेशेप तैय्यप अर्दोनानले यो विषयमा पाकिस्तानको पक्षमा रहने बताएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पाकिस्तानले यस विषयमा संयुक्त राष्ट्रसंघका स्थायी सदस्य देशका साथै अरु देशको पनि समर्थन जुटाउने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एण्टेनियो गुटरेजलाई पत्र लेखेर पाकिस्तानी प्रधानमन्त्री खानले घटनाबारे तत्काल कदम चाल्न र खास अवस्थाबारे बुझ्न राष्ट्रसंघीय टोली जम्मू काश्मीर पठाउन पत्रमा माग गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले साेमबार मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग पनि कुराकानी गरेका थिए ।