बैतडीमा दुई जनाको हत्या गरेको आरोपमा सात जना पक्राउ

बैतडीमा दुई जनाको हत्या गरेको आरोपमा सात जना पक्राउ

बैतडी : एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडीमा ७ जना पक्राउ परेका छन् । गतअसार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ वर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिका २ मल्लाढीक घर भएकी कलावती बुवा खडक सार्कीसँगै दशरथचन्द नगरपालिका ४ बमरोडामा बस्दै आएकी थिइन् । कलावतीको शव साउन ८ गते उनी अध्ययनरत विद्यालय शिव आधारभूत विद्यालय नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो ।

कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरी अनुसन्धान शुरु भएको प्रहरी प्रवक्ता पातलीको भनाई रहेको छ । आरोपित महरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै दशरथचन्द नगरपालिका ६ नगतडीका १८ वर्षीय दीपक महरको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका ६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उनीहरूलाई पनि जिल्ला अदालतमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साउन १४ गते बैतडी सदरमुकाम गोठलापानीबाट घर फर्केका दीपकको शव साउन १७ गते दशरथचन्द नगरपालिका ६ कन्सनीगाडनजिक फेला परेको थियो ।