पत्नीलाई टिकटक भिडियोबाट जोगाइ पाऊ भनि लाग्नेको पुलिस चौकीमा गुहार

पत्नीलाई टिकटक भिडियोबाट जोगाइ पाऊ भनि लाग्नेको पुलिस चौकीमा गुहार

छिमेकी मुलुक भारतको पटनामा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पुरुषले पुलिस चौकीमा अनौठो उजुरी गरेका छन् । आफ्नी पत्नी टिकटकको लतमा फसेको भन्दै पत्नीका टिकटक भिडियोबाट आफूलाई बचाइदिन गुहार माग्दै उनले पुलिस चौकीमा निवेदन दिएका छन् ।

भारतमा पुलिसको महिला हेल्पलाइनको इतिहासमा यस्तो खाले उजुरी पहिलोपटक परेको बताइएको छ । पटनाको महेन्दु पंजाबी टोलमा बस्ने शंकर कुमार नामका पुरुषले पुलिस चौकीमा उजुरी हाले । उनको उजुरीमा आफ्नी पत्नी दिनरात मोबाइलमा झुण्डिरहने र टिकटकमा भिडियो बनाइरहने उल्लेख थियो ।

पत्नी टिकटकको लतमा यतिसम्म फसेकी रहेछन् कि न त आफूले खान सम्झिन्थिन् न त छोरालाई नै खुवाउने हेक्का थियो । घरको कुनै काम अह्रायो कि ठाडै इन्कार गर्थिन् ।

यतिमात्र कहाँ हो र रु पत्नीले टिकटकमा अपलोड गरेका भिडियोमा विभिन्न मानिसहरुले गर्ने अश्लील कमेन्टहरुका कारण शंकर कुमारलाई लज्जित बनायो । पत्नीका टिकटक भिडियोमा यतिधेरै गाली तथा अश्लील कमेन्टहरु आउने गर्थे कि उनलाई शीर ठाडो पारेर हिँड्नै मुस्किल भयो । त्यसबाट आजित भएका शंकरले आफ्नी पत्नीलाई टिकटकको नशाबाट छुटकारा दिलाउन महिला पुलिससमक्ष अनुरोध गरेका छन् ।

तर यति हुँदा पनि शंकरकी पत्नीचाहिँ टिकटक छाड्ने पक्षमा देखिएकी छैनन् । बरु आफू लोग्ने र परिवारबाट अलग हुनसक्ने तर टिकटक छाड्न नसक्ने उनले बताउने गरेकी छन् । टिकटकमा भिडियो बनाउन नदिनु भनेको आफ्नो स्वतन्त्रतामा हमला गर्नु भएको उनको जिकिर छ ।

पतिको उजुरीपछि पुलिस चौकीमा उपस्थित गराइएकी ती महिलाले उल्टै लोग्नेलाई दोष लगाउँदै आफ्नो लोग्नेको सोच घटिया भएको बताइन् । पतिले आफूलाई कत्ति पनि स्वतन्त्रता दिन नचाहेको भन्दै सोही कारण घरमा दिनदिनै झगडा हुने गरेको गुनासो उनले गरेकी छन् ।