वर्षासँगै बैतडीको स्वास्थ्य संस्थामा बढे बिरामी

वर्षासँगै बैतडीको स्वास्थ्य संस्थामा बढे बिरामी

बैतडी : जिल्ला अस्पताल बैतडीमा बिरामीहरुको संख्या बढेको छ। वर्षातसँगै दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको जिल्ला अस्पतालका अहेब विनोदप्रसाद भट्टले जानकारी दिए।  अस्पताल आउने प्रायः झाडापखालाका बिरामी भएको भट्टले बताए।

यसका साथै छालाको रोग, भाइरल ज्वरोका बिरामी पनि पछिल्लो समयमा बढेको अस्पतालले जनाएको छ ।  दूषित खानेपानीका कारण झाडापखला, आउँ, हैजाको प्रकोप बढेकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले आग्रह गरेका छन्।

वर्षातको समयमा पानीको मुहान फोहोर हुने भएकाले अन्य समयको तुलनामा वर्षातमा पानीजन्य रोग बढ्ने गरेको हो। यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको संख्या बढेको हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले बताए। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि बिरामीको संख्या बढेको जनाइएको छ।