नेपाल वरीयतामा यथावत्

नेपाल वरीयतामा यथावत्

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–ट्वान्टीको वरीयतामा नेपाल यथावत् रहेको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल ११औं स्थानमा यथावत् रहेको छ । अघिल्लो महिना पनि नेपाल ११औं स्थानमै रहेको थियो ।

यसै महिना मलेसियासँगको दुई खेलको टी–ट्वान्टी क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनल खेले पनि नेपालले वरीयता सुधार गर्न नसकेको हो । नयाँ वरीयताअनुसार नेपालले १४ खेलबाट २०१ अंक पाएको छ । एसोसियट राष्ट्रमध्ये टी–ट्वान्टी वरीयतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालभन्दा तल दुई टेस्ट राष्ट्र जिम्बावे र आयरल्यान्ड रहेका छन् ।

टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्यान्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै, चौंथो स्थानमा भारत र पाँचांै स्थानमा न्युजिल्यान्ड रहेका छन् । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरीयतामा पनि नेपाल १५औं स्थानमा यथावत् रहेको छ ।

नेपालले ८ खेलबाट १५२ अंक पाएको छ । एकदिवसीय वरीयतामा नेपालभन्दा तल यूएई र पपुवा न्युगिनी रहेका छन् । एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।