दशरथ रंगशाला समयमै नबन्दा नेपालले ३ वटा मात्र ‘होम म्याच’ खेल्ने

दशरथ रंगशाला समयमै नबन्दा नेपालले ३ वटा मात्र ‘होम म्याच’ खेल्ने

फिफा विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले खेल्ने ८ खेल मध्ये ३ वटा खेल मात्र घरेलु मैदानमा खेल्ने भएको छ। प्रतियोगितामा नेपालले ४ खेल घरेलु मैदानमा (होम म्याच) र ४ खेल विपक्षी टिमको मैदानमा (अवे म्याच) हुने तय छ।

समूह ‘बी’ रहेको नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध होम र अवे म्याच खेल्नेछ। यद्यपी कुवेतविरुद्ध भने दुवै खेल अवे बनाउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार निर्णय गरेको छ। 

दशरथ रंगशाला निर्माण आगामी कार्तिक १५ मा मात्र सकिने भएकाले नेपालको खेल तालिका प्रभावित भएको हो। जसका कारण एन्फाले सुरूमा ‘अवे म्याच’ खेल्नका लागि गृहकार्य थालेको थियो। नेपालले भदौ १९ गते कुवेतविरुद्ध, भदौ २४ गते चाइनिज ताइपेईविरुद्ध र असोज २८ जोर्डनविरुद्ध घरेलु मैदानमा खेल्ने खेल तालिका छ।

यी खेलका लागि अन्तर्राष्ट्रिय मापदण्डको मैदान चाहिने नियमअनुरूप नेपालले दशरथ रंगशालामा होम म्याच खेलाउने तयारी थालेको थियो। तर चिनियाँ कम्पनीले सम्झौताअनुसार निर्माण सकेर कार्तिक १५ गते पछि मात्र रंगशाला दिने भएपछि एन्फाले सुरुमा अवे म्याच गराउन पहल थालेको थियो।

तीन वटै ‘होम म्याच’ लाई ‘अवे म्याच’ बनाउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वटा देशको फुटबल संघलाई अनुरोध गर्दै पत्रचार गरेको थियो। तीनै वटा फुटबल संघले एन्फाको अनुरोधलाई सकारात्मक जवाफ दिएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।

अब एएफसीले स्वीकृति दिएपछि नेपालले पहिले अवे र त्यसपछि होम म्याच खेल्ने पक्का हुनेछ। पहिले ३ अवे खेल खेलेको अवस्थामा नेपालले पहिलो होम म्याच आगामी मंसिर ३ गते कुवतेविरुद्ध खेल्नु पर्ने अवस्था थियो। तर मंसिर ३ मा पनि रंगशाला उपलब्ध नहुने भएपछि नेपालले कुवेतविरुद्धको दुवै खेल उसकै मैदानमा हुने भएको छ।

‘होम म्याचलाई अवेको रुपमा खेले पश्चात् १९ नोभेम्बरमा संचालन हुने नेपालको होम म्याचलाई पनि कुवेत फुटबल संघसँग समन्वय गरी कुवेतमा नै खेल्ने गरी कुवेत फुटबल संघ र एएफसीसँग आवश्यक पत्राचार गरी समन्वय र स्विकृति प्राप्त भए पछि खेल्ने निर्णय गरिएको छ,’ एन्फाको मंगलबार बसेको आकस्मिक बैठकको निर्णयमा उल्लेख छ।

एन्फा अध्यक्ष शेर्पाले कार्तिक १५ मा चिनियाँ कम्पनीले दशरथ रंगशाला हस्तान्तरण गरेको अवस्थामा पनि मंसिर ३ मा खेल खेलाउन तयारी नपुग्ने भएकाले कुवेत विरुद्धको होम म्याचलाई पनि अवे बनाइएको बताए। साथै न्यूट्रल भेन्यू (तेस्रो देशमा) खेल्दा खर्चिलो हुने भएकाले कुवेतमा नै खेल्ने निर्णय गरिएको अध्यक्ष शेर्पाको भनाइ छ।

जससँग नै नेपालले विश्वकप छनोटमा चैतमा मात्र घरेलु मैदानमा खेल खेल्नेछ। नेपालले चाइनिज ताइपेईसँग चैत १३, अस्ट्रेलियासँग चैत १८ र जोर्डनसँग जेठ २२ गते घरेलु मैदानमा खेल्नेछ। त्यसअघि नेपालले भदौ १९ गते कुवेतविरुद्ध, भदौ २४ गते चाइनिज ताइपेईविरुद्ध र असोज २८ जोर्डनविरुद्ध ती देशकै घरेलु मैदानमा हुनेछ।

नेपालको विश्वकप अब यस्तो हुनेछ तालिका

कुवेतविरुद्ध
भदौ १९ गते - अवे म्याच
मसिंर ३ गते – अवे म्याच

चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – अवे म्याच
चैत १३ गते - होम म्याच

अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच

जोर्डनविरुद्ध
असोज २८ गते - अवे म्याच
जेठ २२ गते(२०७७) – होम म्याच