विमानभित्र रिसको सुरमा पत्नीको मुखमा थुके, विमानको आकस्मिक अवतरण

विमानभित्र रिसको सुरमा पत्नीको मुखमा थुके, विमानको आकस्मिक अवतरण

बेलायतका एक विमानयात्रु एडवर्ड मोन्गनले रिसको सुरमा आफ्नी पत्नीको मुखमा थुकिदिएपछि विमानका पाइलटले आकस्मिक अवतरण गराएका छन् । थुक्ने यात्रुलाई ८ लाख रुपैयाँको जरिवाना तिराइएको छ । 

विमान आन्ध्र महासागरमाथ उडिरहँदा मोन्गनले पत्नीसँग बेस्सरी झगडा गरेका थिए । विमान बेलायतबाट मेक्सिको जाँदै थियो । विमानचालकलाई झगडा बढेपछि चिन्ता लाग्यो अनि उनले बर्मुडाको टापुमा आकस्मिक अवतरण गराए । 

पतिपत्नीबीच झगडा कसरी शुरू भयो भन्ने कुरा थाहा हुन सकेको छैन । तर मोन्गनले पत्नीलाई गाली गरेको चाहिँ सुनिएको थियो । टीयूआई एयरवेजमा अघिल्लो आइतवार यो घटना भएको हो । 

मोन्गनले पत्नीसँग प्रयोग गरेको भाषाका बारेमा क्याबिन म्यानेजर यान मारी इभान्सले कुरा गर्न खोज्दा उनले भने, ‘भाग् । मेरा आँखाबाट टाढा भइजा ।’

बर्मुडाको राजधानी ह्यामिल्टनको एक अदालतका मजिस्ट्रेटहरूले मोन्गनलाई ८ लाख रुपैयाँको जरिवाना तिर्न लगाएका छन् । मोन्गनले धाकधम्कीयुक्त व्यवहार देखाएको, विमान कर्मचारीमाथि हस्तक्षेप गरेको र अभद्र भाषाको उपयोग गरेको आरोप स्वीकारेपछि जरिवाना लगाइएको हो । 

मोन्गनले पत्नीलाई थुकेर विमान कर्मचारीलाई जान भनेपछि आफू पछिल्तिर गए अनि अर्का विमान कर्मचारीसँग झर्कोफर्को गरे र अझै अर्का विमान कर्मचारीलाई धकेले । बर्मुडाबाट उक्त विमान मेक्सिकोको कानकुनतिर गयो ।