६ वर्षीया यूट्युब सेलेब्रिटीले किनिन् ८७ करोड पर्ने बंगला

६ वर्षीया यूट्युब सेलेब्रिटीले किनिन् ८७ करोड पर्ने बंगला

दक्षिण कोरियाकी ६ वर्षीया यूट्युब सेलेब्रिटी बोरामले राजधानी सउलमा ८७ करोड रुपैयाँ पर्ने बंगला किनेकी छन् ।यूट्युबमा ३ करोड सब्स्क्राइबर भएकी बोरामले गाङनाममा रहेको ६ तल्ले बंगला किनेकी हुन् ।

उनले दुईवटा यूट्युब च्यानलबाट महिनाको ३४ करोड रुपैयाँ कमाउने गरेकी छन् । उनको आफ्नै बोराम परिवार कम्पनीमार्पत उनले यो भवन खरिद गरेकी हुन् । 

गाङनामको शाब्दिक अर्थ हुन्छ नदीभन्दा दक्षिण । यो राजधानी सउलको धनाढ्य बस्ने इलाका हो । यहाँ सउलका सेलेब्रिटीहरू ककटेल बारमा भेला हुन्छन् अनि महंगा पसलमा गएर सामान किन्छन् । 

त्यहाँ बस्ने धनाढ्यहरूको विलासी जीवनशैलीमा आकर्षित भएर सामसङ र हुन्डे जस्ता ठूला कम्पनीले कार्यालय खोलेका छन् । 

बोरामले उक्त ठाउँमा किन भवन किनेकी हुन् भन्ने प्रस्ट हुन सकेको छैन । उक्त भवन सन् १९७५ मा बनेको हो र यो २५८.३ वर्गमिटर जग्गामा फैलिएको छ । 

बोरामको ट्युब भ्लोग च्यानलका एक करोड ७५ लाख सब्स्क्राइबर छन् भने बोराम ट्युब टोयरिभ्युका एक करोड ३६ लाख सब्स्क्राइबर छन् । यी दुवै च्यानलले बालबालिकालाई लक्षित गरेर भिडियो बनाउँछन् ।

भ्लोगमा बोरामको दैनिक गतिविधि देख्न पाइन्छ भने अर्को च्यानलमा खेलौनाको समीक्षा गरेको भेटिन्छ । उनी कोरियाकी प्रख्यात यूट्युबरमध्ये एक हुन् र उनको एउटा भिडियोले ३७.६ करोड भ्युज पाएको छ ।