दिल्लीमा नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या

दिल्लीमा नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या

बाजुरा : बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या भएको छ। भारतको पूर्वी दिल्लीको सक्‍कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका- १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।

शुक्रबारको दिन पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूतबासमा कार्यरत एसएसपी प्रकाश अधिकारले जानकारी दिएका छन्।

भारतीय नागरिक बसिम अहमद उर्फ सनुले  बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई भारतीय प्रहरीले प्रक्राउ  गरेको छ। बुवा देब चदारा त्यसै घरको चौकीदारी गर्थे भने आमा त्यसै घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन्। शुक्रबार दिउँसो पौन १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला पारेकी छोरीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेका थिए। 

छोरीको हत्या भएको खबर पाएपछि देब चदाराले भारतस्थित विभिन्न नेपाली संघ, संगठन नेपाली र राजदूतावाससँग सहयोग मागेका थिए। अन्य नेपालीको सहयोगमा प्रहरी कहाँ मुद्धा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्रबहादुर सिंहले बताए।

बालिकाको आइतबार पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ। भारतस्थित नेपाली राजदूतमा कार्यरत एसएसपी प्रकाश अधिकारीकाअनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बलात्कारको प्रयासपछि हत्या गरेका हुन्।

उनले प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकार गरेको एसएसपी प्रकाश अधिकारीले जनाएका छन्। पोष्टमार्टम गर्दा घाँटीमा औला अड्काएको छाप र गुप्ताङ्ग वरपर बलात्कार प्रयासको प्रमाण भेटिएको अधिकारीले बताए। भारतीय प्रहरीले बसिम अहमद उर्फ सनुमाथि हत्या र बलात्कारको मुद्धा दर्ता गरेको छ।

दुई हप्ता पहिला डोटी घर भएकी भारतमा बस्दै आएकी १४ की सीता नेपाली (नाम परिवर्तन ) भारतको नयाँ दिल्लीमा आफ्नै काम गर्ने मालिकको छोराले बलात्कार गरेको थियो।