बैतडीमा १६ महिनापछि सुत्केरीलाई प्रोत्साहन भत्ता

बैतडीमा १६ महिनापछि सुत्केरीलाई प्रोत्साहन भत्ता

बैतडी : पुर्चौंडी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई १६ महिलापछि प्रोत्साहन भत्ता वितरण गरेको छ। स्वास्थ्य संस्थामा सुत्केरी भएकै समयमा दिइने भत्ता लामो समयपछि वितरण गरेको हो।

नगरपालिकाले २०७४ चैतदेखि २०७५ असारसम्मको सुत्केरी भत्ता वितरण गरेको हो। यसअघि बजेट अभाव भएकाले भत्ता वितरण गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए। स्वास्थ्य संस्थामा प्रसूति भएकाहरुलाई नगरपालिकाभित्रका १० वटा स्वास्थ्य संस्थाको खातामा रकम जम्मा गरेको र स्वास्थ्य संस्थाहरुले आफ्नो सेवा क्षेत्रमा वितरण गर्न थालेको हो।

नगरपालिकामा २१ वटा केन्द्रमा सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको छ। १६ महिनामा ७७८ आमाका लागि ३९ लाख रुपैयाँ भत्ताबापतको रकम स्वास्थ्य संस्थाहरुको खातामा पठाइएको नगरपालिकाले बताएको छ। चालु आर्थिक वर्षमा भने सुत्केरी भत्ता वितरणमा समस्या नहुने बताइएको छ।

अघिल्लो गत वर्षहरुमा स्वास्थ्य मन्त्रालयले समयमै रकम नपठाउँदा समस्या भएको हो। रकम उलपब्ध भएपछि सकेसम्म घरमै गएर, नजिक भएकाहरुलाई स्वास्थ्य संस्थामा बोलाएर सुत्केरी भत्ता वितरणको तयारी भएको कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारले बताए।