कतारसँगको हारपछि ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको लक्ष्यमा धक्का

कतारसँगको हारपछि ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको लक्ष्यमा धक्का

आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल कतारसँग पराजित भएको छ । १ सय २३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेपछि नेपाल ४ विकेटले पराजित भएको हो ।

पहिलो खेलमा कतारसँग पराजित भएसँगै नेपालको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । सिंगापुरस्थित इन्डियन एसोसिएसनको ग्राउन्डमा कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । ३२ बलको सामना गरेका इनाम ६ चौका प्रहार गर्दै रनआउट भए ।

२२ रन बनाएका कमरन खान करण केसीको बलमा सन्दीप लामिछानेमार्फत् क्याच भएका थिए । जहिरले १२ रनको योगदान दिए । उनी सन्दीपको बलमा शरद भेषवाकरमार्फत् क्याच भए । मुहम्मद तनविर ११ रन बनाउँदै सन्दीपको बलमा करणमार्फत् क्याचको शिकार हुँदा कप्तान तमोर सज्जाद ९ रनमा पवेलियन फर्किए । ओपनर फैसल खान १ रनमा सन्दीपको बलमा सोमपाल कामीमार्फत क्याच भएका थिए ।

मोहम्मद रिजन ९ र नौमन सरवारले अविजित १५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३  विकेट लिएपनि हार टार्न सकेनन् । करण केसीका नाममा १ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा १ सय २२ रनमा अलआउट भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बनाएका थिए । औंलाको चोटपछि टोलीमा फर्किएका दिपेन्द्र १ चौका र १ छक्का प्रहार गर्दै नौमन सरवारमार्फत् बोल्ड भए ।

कप्तान पारस खड्काले २८ रन बनाए । १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका खड्का इनाम उल हकको बलमा क्याच भएका थिए । ज्ञानेन्द्र मल्लले २३ रन बनाए । २४ बलमा २ चौका र १ छक्का प्रहार गरेका ज्ञानेन्द्र तमोर सज्जादको बलमा इकबल हुसेनमार्फत क्याच भए । ज्ञानेन्द्र र खड्काले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि मध्यक्रममा ब्याटसम्यान नचल्दा नेपाल सस्तैमा समेटिएको थियो ।

सोमपाल कामीले ११ रन बनाए । १२ बलमा १ चौका प्रहार गरेका सोमपाल रनआउट भए । भरपर्दा खेलाडी शरद भेषवाकर ७ रनमा आउट हुँदा विनोद भण्डारीले ३ रनमात्र जोडे । शरद तमोर सज्जादको बलमा नौमन सरवारमार्फत क्याच हुँदा विनोद बोल्ड भए ।

करण केसीले ४ रन बनाए । सन्दीप लामिछानेले ९ रन बनाउँदा बसन्त रेग्मीले १ तथा अभिनास बोहरा र ललित नारायण राजवंशीले खाता नै खोल्न सकेनन् । कतारका इकबल हुसेनले ३ विकेट लिए । तोमर सज्जाद र नौमन सरवारको नाममा २–२ विकेट रहँदा इनाम उल हकले १ विकेट लिएका थिए ।

कतार आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्न सफल हुँदा नेपालले भने खराब सुरुआत गरेको छ । हारसँगै शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर बनेको नेपालले दोस्रो खेल भोली मलेशियासँग खेल्नेछ ।

यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने ग्लोबल क्वालियफायरमा पुग्नेछ । ग्लोबल क्वालिफायर अष्टे«लियामा हुने टि–२० विश्वकपको अन्तिम चरणको छनोट हो ।