नेपाल र कतारबीचको खेल पिचका कारण ढिलो सुरु हुने

नेपाल र कतारबीचको खेल पिचका कारण ढिलो सुरु हुने

टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको नेपाल र कतारबीच हुन गइरहेको खेल निर्धारित समयभन्दा केही ढिलो गरी सुरु हुने भएको छ ।

नेपाली समयअनुसार कतार र नेपालबीचको खेल बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने तय भए पनि खराब पिचका कारण केही ढिलोगरी सुरु हुने भएको हो । इन्डियन एसोसियसन क्रिकेट मैदानमा केहीबेरपछि नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

कतारविरुद्ध नेपाल स्पष्ट जित हात पार्न चाहन्छ । यता, कतार भने आफ्नो पहिलो खेलमा नै सिंगापुरसँग ३३ रनले पराजित भएको कारण दबावमा हुनेछ ।

नेपाल र कतारबीचमा टी–२० क्रिकेटमा दुईपटक भेट भएको छ । जसमा नेपाल र कतारले एक–एक खेलमा जित हात पारेको छ ।

नेपालको लक्ष्य कतारलाई पराजित गर्नु मात्रै होइन, यो प्रतियोगिताकै विजेता बन्दै आगामी वर्ष यूएईमा हुने विश्वकपको ग्लोवल छनोटमा प्रवेश गर्नु हो । त्यसकारण पनि नेपालको लागि यो प्रतियोगिता महत्त्वपूर्ण छ ।

पाँच देशको सहभागिता रहेको प्रतियोगिताको विजेता विश्वकपको ग्लोवल छनोटमा प्रवेश गर्नेछ । मलेसियासँग दुई खेलको टी–२० क्रिकेट सिरिजपश्चात सिंगापुर पुगेको नेपाल प्रतियोगिताकै सबैभन्दा बलियो टिम हो ।