क्यान्सरपीडित क्रिकेटरलाई सुदूरपश्चिम समाज कोरियाले ‍गर्‍यो आर्थिक सहयोग

क्यान्सरपीडित क्रिकेटरलाई सुदूरपश्चिम समाज कोरियाले ‍गर्‍यो आर्थिक सहयोग

डडेलधुरा : क्यान्सरपीडित क्रिकेट खेलाडी केशव सिंहलाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले एक लाख ३७ हजार ९ सय ७६ रुपैयाँ सहयोग गरेको छ।

आइतबार आलिताल गाउँपालिकामा एक कार्यक्रमकाबीच क्यान्सरपीडित आलिताल गाउँपालिका–६ का क्रिकेट खेलाडी सिंहका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम कोरियाली समाजका पूर्व अध्यक्ष नरबहादुर साँकीले कोरियामा कार्यरत १ सय १२ जना नेपालीको संयुक्त पहलमा उक्त रकम संकलन भएको बताए।

सुदूरपश्चिम समाज कोरियाले विगत लामो समयदेखि यस्ता दुःख र पीडामा परेका व्यक्तिलाई सहयोग गर्दै आएको पनि बताए। यस्तै आलिताल निर्माण व्यवसायी संघले १५ हजार १ सय ५५ र गाउँस्वस्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले नगद ५ हजार सहयोग गरे।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले आत्मविश्वास  र आत्मबललाई साथमा राखेर अगाडि बढ्न सुझाउँदै आफू र गाउँपालिका सिंहको सहयोगमा लागि परेको जनाए।

गाउँपालिकाले यसअघि नै सिहंलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ। कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको छ। उनी अहिले भारतको राजधानी नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचार गराइरहेका छन्।

शल्यक्रिया खर्चवापत करिब १५ लाख रुपैयाँ लाग्ने भएपछि उनले सहयोगको अपिल गरेका छन्। विगतमा भन्दा अहिले सिंहको स्वास्थ्यमा सुधार भएको उनको परिवारले जनाएको छ।

उनी डडेलधुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन्। सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले केशव सिंहको ग्लोबल आइएमई बैंक डडेलधुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सकिनेछ।