आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो प्रदर्शन गरेका सिंगापुरका खेलाडीले बलिङमा पनि कसिलो प्रदर्शन गरेपछि जित हात पार्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । टोलीका लागि सुरुवाती चार ब्याटसम्यानले अब्बल ब्याटिङ गरेपछि सिंगापुरले ठुलो स्कोर बनाउन सकेको थियो ।

ओपनर रोहन रंगराजनले टोलीका लागि २० बलमा ३ चौका र २ छक्का सहित ३२ रन बनाए भने अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३९ बलमा ४७ रन बनाए ।

त्यस्तै तेश्रो नम्बरमा ब्याटसम्यान टिमोथी डेबिडले ३८ रन बनाए भने विकेट किपर ब्याटसम्यान मनप्रित सिंहले १८ बलमा ३४ रन बनाएका छन् ।

बलिङतर्फ कतारका इकवाल हसनले ४ विकेट लिएभने नौमान सरवारले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको आक्रामक रुपमा खेलेपनी सिंगापुरको कसिलो बलिङको घेरा तोड्दै खेल जित्न सकेन । कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन मात्र बनाउन सक्यो ।

कतारको लागि कप्तान तमुर सज्जादले २९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३४ रन बनाए भने मोहम्मद रिजलानले नटआउट ३३ रन बनाए । त्यस्तै फैसल जावेदले २९ र मुहम्मद तनवीरले २६ रन बनाए ।

कसिलो बलिङ गरेको सिंगापुरका जनक प्रकाशले ४ ओभरमा १ मेडन सहित १५ रन दिइ ३ विकेट लिए । त्यस्तै अमजद महमुदले पनि ३ विकेट हात पारे ।

उत्कृष्ट बलिङ गरेका जनक नै प्लेयर अफ द म्याच चुनिए । नेपालले आफ्नो पहिलो खेल भोली खेल्दैछ । आज पराजित कतार नै नेपालको पहिलो प्रतिद्वन्दी रहेको छ । खेल नेपाली समयअनुसार बिहान ७ः१५ मा सुरु हुने तालिका रहेको छ ।