देशका विभिन्न भागमा वर्षा, सतर्क रहन आग्रह

देशका विभिन्न भागमा वर्षा, सतर्क रहन आग्रह

देशका विभिन्न भागमा जारी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको भन्दै सरकारले सतर्क रहन सबैमा आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाले बाढी र पहिरोको जोखिम बढाएकाले सतर्क रहन आग्रह गरेको हो ।

मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । महाशाखाका अनुसार पूर्वको झापा, मोरङ र सुनसरीमा यतिबेला मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । त्यस्तै, चितवन, पर्सा, गोरखा, डडेल्धुरा र त्यस आसपासका क्षेत्रमा पनि पानी परिरहेको छ ।

निरन्तर वर्षा भइरहेकाले कन्काई, कमला र बाग्मतीका केही सहायक नदीहरुको बहावले सतर्कता तह पार गर्ने सम्भावना छ । महाशाखाका अनुसार, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, सुनसरी, ओखलढुंगा, रामेछाप, सिन्धुली, रामेछाप सिन्धुलीमा बहने नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना छ ।

त्यस्तै, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं उपत्यका र आसपासका जिल्ला, चितवन, बारा, पर्सा, नवलपरासी, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, सल्यान र आसपासका जिल्ला तथा प्रदेश २ का पहाड र चुरेबाट बहने केही साना नदीहरुमा पनि बाढी आउने प्रक्षेपण महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार, मंगलबार पनि देशका विभिन्न नदीहरुमा बाढी जाने सम्भावना छ । असार अन्तिमदेखि मनसुन सक्रिय हुँदा देशभर वर्षा भइरहेको छ । अविरल वर्षापछि तराई क्षेत्रमा डुबान र पहाडमा पहिरो गएका छन् । डुबान र पहिरोले दर्जनौंको ज्यान गइसकेको छ भने कैयन हराइरहेका छन् । बाढीले बिस्थापित हुनेको संख्या पनि उत्तिकै छ ।